विराटनगरमा कांग्रेस,एमाले र फोरमको त्रिकोणात्मक भिडन्तः को बन्ला महानगरको मुखिया?


विराटनगर महानगरपालिकाको निर्वाचन अगाडि नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल विराटनगर पुगेका थिए। उनको त्यो भ्रमणलाई धेरैले स्थानीय निर्वाचनसँग जोडेर मात्र हेरेनन्, विराटनगरमा द्वन्दको अवस्थामा रहेको केपी ओली र माधव नेपाल गुटबीच सहमति बनेको रुपमा पनि अथ्र्याएका थिए।

अहिले देशभित्र सर्वाधिक चासो बनेको विराटनगर महानगरपालिका निर्वाचनको मतगणना जारी छ। तर निर्वाचन अगाडि जुन प्रकारको भविष्यवाणी गरिएको थियो। नतिजा बाहिरिदै गर्दा एमालेका कार्यकर्ता त्यति उत्साही बन्न सकिरहेका छैनन्।

यतिबेला विराटनगर महानगरपालिकाको सिट मात्र होइन, वडाको नतिजा पनि एमालेको पक्षमा देखिएको छैन्।
महानगरपालिकाभित्र १, २, ३, ४, १६, १७ र १८ वडाको मतगणना भइरहँदा नेपाली कांग्रेस १ र १६ मा प्यानलसहित विजयी भइसकेको छ। थप ५ वटा वडाको मतगणना चलिरहँदा एमालेले एक स्थानमा मात्र आफ्नो साख जोगाउने देखिन्छ।

२० वर्षअघि प्रविन (पारु) उप्रेतीले जितेको वडा नम्बर २ मा मात्र एमालेले जित्ने छाँट देखिएको छ।
महानगरपालिकाको मेयर पदमा पनि एमालेका प्रत्यासी विनोद ढकाल आफ्ना चिरप्रतिद्वन्दी नेपाली कांग्रेसका भीम पराजुलीभन्दा २ हजार बढि मतले पछाडि छन्। अझ, उनलाई समाजवादी फोरमका उम्मेदवार उमेश यादवले तेस्रो स्थानबाट कडा टक्कर दिइरहेका छन्। सोमबार राती १० बजेसम्मको मतगणनाअनुसार यादव र ढकालको मतान्तर २ सय ५ मात्र छ।

मधेशवादी दलको पकड रहेको मिल्स एरियाको सैनिक टोलतर्फको १३ नम्बर वडा, जतुवाको १४, फोक्सा बुधनगरको १५ र जनविकाश मावी क्षेत्रको १८ नम्बर वडाको मतगणना सम्पन्न हुन अझै बाँकी छ। त्यसैले यी वडाबाट यादवको मत अझै बढ्न सक्ने सम्भावनाका बीच उनले ढकाललाई पछि पार्न सक्ने अनुमान लगाउन गाह्रो छैन्।

प्रारम्भिक नतिजाको विश्लेषण गर्दा एमालेलाई विराटनगरमा यसपालि ठूलो धक्का लाग्न सक्ने पार्टीसम्बद्ध नेता तथा कार्यकर्ता नै बताउँछन्।

२०५४ सालमा स्थानीय निकायको निर्वाचन हुँदा एमालेले मेयर र उपमेयरसहित २२ मध्ये १३ वडा जितेर अभूतपूर्व सफलता हात पारेको थियो।

यसपालि २२ वडालाई गाँभेर १९ मा झारिएको छ। त्यतिबेला जितेको वडामध्ये यसपालि तीनपैनी र सरस्वती टोल भएको २, तीन टोलीया रहेको १०, जनपथ टोल रहेको ११ र महेन्द्र मोरङ कलेज नजिक बखरी पर्ने १२ नम्बर वडामा एमालेले पकड बनाउने आशा गरिएको छ। तर, १० मा एमालेका पुराना स्थानीय नेता माधव वाग्ले बागी बनेर स्वतन्त्र उम्मेदवारको रुपमा उठेका कारण पार्टीलाई गाह्रो पर्ने देखिन्छ।

एमालेका पूर्व जिल्ला अध्यक्ष महेश रेग्मी अब गणना हुन बाँकी ५ देखि १२ सम्मको वडामा खसेको मतको आधारमा मेयर पदको हारजीत टुँगो लाग्ने बताउँछन्।

‘प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवार २ हजारले अगाडि देखिए पनि हामीले त्यो नतिजा उल्टाउने सम्भावना छ। हाम्रो एरियामा मतगणना हुन बाँकी छ। यसमा हामी सुधार गर्छो भन्ने लागेको छ,’ रेग्मीले सेतोपाटीसँग भने।

वडाको ५ नम्बर एमाले उम्मेदवार ढकालको आफ्नै घर भएको क्षेत्र पनि हो। १२ वडामा कांग्रेसमा बागी उम्मेदवार भएका कारण त्यहाँबाट पनि आफूलाई मत आउने एमालेको आंकलन छ।
विराटनगरमा विजय गच्छ्दार अध्यक्ष रहेको लोकतान्त्रिक फोरम र उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी फोरमबीच तालमेल नभएपछि नेपाली कांग्रेस र एमालेबीच नै कडा टक्कर पर्ने अनुमान गरिएको थियो।
तर, त्यो अनुमान विपरित माओवादी केन्द्रसँग तालमेल गरेको समाजवादी फोरमका मेयर पदका उम्मेदवार उमेश यादवले ७ वटा वडाको मतगणना हुँदा ४ हजार ५ सयको हाराहारीमा मत ल्याइसकेका छन्। यसमा पनि करिब ८ सयको हाराहारीमा उनको मत बदर भएको छ। उनले हालसम्म ल्याएको मतको विश्लेषण गर्दा कांग्रेस र एमालेको अंक–गणित केही हदसम्म फेल भइसकेको छ। उनी शहरी क्षेत्रमा रहेको मारवाडी, मधेशीलगायत मुसलीम अल्पसंख्यकहरुको मत तान्न सफल भएको खण्डमा मेयर पदको प्रतिस्पर्धा रोचक बन्ने पक्का छ।

‘हामीले १, २ र ३ बाट मत पाउने आशा गरेका थिएनौं। तर, यहाँ पनि राम्रो मत प्राप्त गरेका छौं,’ फोरमका केन्द्रिय सदस्य जयराम यादव भन्छन्।

विराटनगरमा मेयर पदका लागि करिब ८० हजारको हाराहारीमा मत खसेको थियो। कांग्रेस, एमाले र संघीय समाजवादी फोरमबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको खण्डमा करिब २५ देखि २७ हजारको हाराहारीमा मेयर पदको निर्णय हुने अनुमान गरिएको छ।

जसमा कांग्रेस र एमालेको एकै किसिमको ‘भोट ब्यांक’ रहेको छ। फोरमको रोडशेष चोकदेखि तल मधेशबाहुल्य रहेको निर्वाचन क्षेत्र सबैभन्दा ठूलो ‘भोट ब्यांक’ हो। यी तीनवटै दलको आ–आफ्नै किसिमको ‘भोट ब्यांक’ रहेपनि यसपालि बजारको मारवाडी र सरोचियामा रहेको मुसलीम समूदायको भोटले मेयर पदको निर्धारण गर्दैछ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.