अन्तर्घात र पहिलेको जितको उन्मातले हारियोः दाङ कांग्रेस

दाङमा किन पछि पर्‍यो कांग्रेस?


परम्परागत रूपमा दाङ जिल्ला नेपाली कांग्रेसको गढका रूपमा रहेको थियो। पहिलो संविधानसभा बाहेकका निर्वाचनमा नेपाली कांग्रेसको दाङमा बलियो उपस्थिति रहने गरेको थियो।

दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले दाङका पाँच वटा निर्वाचन क्षेत्रमा विजय हाशिल गरेको थियो। पहिलो संविधानसभाको निर्वाचनमा भने सबै क्षेत्र माओवादीले जितेको थियो। तर, दोस्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा कांग्रेसले आफ्नो मत फर्काउन सफल भएको थियो। तर, दाङको केन्द्रका रूपमा रहेका दुई उपमहानगरपालिका तुलसीपुर र घोरहीको नतिजाले भने नेपाली कांग्रेसलाई झस्काएको छ ।

दुवै उपमहानरपालिकामा एमालेले सुरूदेखि नै अग्रता लिएको छ। घोराही उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित भइसकेको छ भने तुलसीपुरमा एमालेको फराकिलो अग्रता छ।

घोरहीको मतगणना अन्तिम चरण पुगेको छ। घोरहीमा झण्डै ३५ सय अन्तरले एमालेले निर्वाचन जित्ने एमाले दाङका अध्यक्ष टिकाराम खड्काले सेतोपाटीलाई बताए। अहिले पनि एमालेले २७ सय भन्दा बढी मतले कांग्रेसलाई पछि पारेको छ।

तुलसीपुरमा पनि एमालेले जित्ने एमाले अध्यक्ष खड्काले बताए। तुलसीपुरमा ५ हजार भन्दा बढी मतको अन्तरले निर्वाचन जित्ने खड्काले दावी गरे।

दुई उपमहानगरपालिकाको हारलाई नेपाली कांग्रेसले स्वीकारिसकेको छ । घोरहीमा जित्ने सम्भावना नरहे पनि तुलसीपुरमा अझै आश गर्ने ठाउँ रहेको नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीले सेतोपाटीलाई बताए। नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई जनतामाझ पुर्‍याउन नसकेकोले निर्वाचनमा अपेक्षीत नतिजा नआएको उनले बताए।

‘निर्वाचनका लागि उमेदवारको चयन पनि ढिलो मात्रै भयो ।जसले गर्दा हामी जनतामाझ पनि धेरै जना पाएनौ,’ डांगीले भने, ‘संविधानसभामा पार्टीले सबै क्षेत्रमा जितेको उन्माद हामीलाई भएकोले पनि यस्तो भएको होकी जस्तो लाग्छ।’

पार्टीभित्र आकांक्षीहरु धेरै भएकोले टिकट नपाएको रिसमा कुनै न कुनै रुपमा पार्टीभित्रैबाट पनि अन्तर्घात भएको हुनसक्ने उनले बताए ।

बिगतमा छिन्नभिन्न भएका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा फर्काइसकेकोले एमालेको पक्षमा जनमत देखिएको एमाले दाङका अध्यक्ष टिकाराम खड्काले बताए ।

‘दाङमा हाम्रो आधार बिगतमा पनि बलियो हो । पार्टीभित्रको एकता नभएर हामी पछि परेका थियौं।’उनले भने, ‘पार्टीभित्रको एकता बलियो भइसकेको छ ।बिगतको जनमतलाई फर्काउन हामी सफल भएका छौं।’

एमालेले लिएको राष्ट्रियताको अडान र स्वाभिमानको लडाइले पार्टीलाई जनताले मन पराएको उनले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.