प्रदेश पाँचमा एमालेको अग्रता


प्रदेश नं ५ मा नेकपा एमालेले अग्रता लिएको छ। प्रदेश नं ५ लाई आफ्नो गढको रुपमा रहेको दावी गर्दै आएको एमालेले त्यसलाई कायम राख्न खोजेको देखिन्छ। अधिकांश स्थानमा एमालेले जितेको छ। तीन उपमहानगरमा एमाले अगाडि छ। प्रदेश ५ मा रहेको बुटवल, दाङ र तुलसीपुरमा एमाले अगाडि छ। नेपालगञ्जमा भने राप्रपाका धवलशमशेर राणा अगाडि छन्। पहाडी जिल्ला रोल्पा र रुकुममा माओवादीले जित हात पारेको भए पनि प्रदेश ५ का तराईका जिल्लामा एमाले अगाडि छ।

रूकुम : तीन तह, तीनै माओवादी पोल्टामा

रुकुमका सबै तहको रिजल्ट सार्वजनिक भएको छ। प्रदेश नं ५ मा तीन तह रहेको रुकुमको पुथा उतरगंगा गाउँपालिकामा ओमप्रसाद घर्ती, भुमे गाउँपालिकामा रामसुर बुढा मगर र सिस्ने गाउँपालिकामा कुमारी बराल गौतम विजयी भएका छन्। तीनै जनाले माओवादी केन्द्रबाट जीत हात पारेका हुन्।

रोल्पा : ७ माओवादी, २ एमाले, १ कांग्रेस

रोल्पामा नेकपा माओवादी केन्द्रले दबदबा यथावत् राखेको छ। दश स्थानीय तह रहेको रोल्पाको एक मात्र नगरपालिका रोल्पा नगरपालिका सहित सात तहमा जीत हात पार्दै माओवादीले आफ्नो पकड क्षेत्र मजबुत रहेको सन्देश दिएको हो।

रोल्पा नगरपालिकामा माओवादी केन्द्रका पूर्ण केसी विजयी भएका छन्। उपमेयर समेत माओवादी केन्द्रकै मनकुमारी घर्तीमगरले जितेकी छिन्।

रोल्पाको सुनछहरीमा आशबहादुर पुनमगर, थवाङमा वीरबहादुर घर्ती, दुईखोलीमा नीमकान्त डाँगी, माडीमा नन्दबहादुर पुन र सुकीदहमा वीरबहादुर केसी माओवादीबाट विजयी भएका छन्।

रोल्पाको सुवर्णावती गाउँपालिकामा पनि माओवादी केन्द्रका गुणेन्द्र घर्ती विजयी भएका छन्। उपप्रमुखमा पनि माओवादीकै बागमती क्षेत्रिनी विजयी भइन्।

एमालेले त्रिवेणी गाउँपालिका र रुन्टीगढीमा जीत हात पारेको छ। एमालेका शान्तकुमार ओली त्रिवेणीबाट र रुन्टीगढीबाट बालाराम बुढा विजयी भएका छन्।

कांग्रेसले भने लङ्ग्रीमा मात्र जीत हात पारेको छ। लुङ्ग्रीमा कांग्रेसका दुर्गाबहादुर खड्का विजयी भएका हुन्।

पाल्पा : एमालेको वर्चश्व, रामपुरमा एमाले अगाडि

पाल्पामा नेकपा एमालेले बर्चश्व कायम गरेको छ। १० स्थानीय तह रहेको पाल्पाको तानसेन नगरपालिका सहित अधिकाशं स्थानीय तहमा एमाले जीतको झण्डा गाडेको हो। हालसम्म ६ वटामा तहमा एमालेले जीतेको छ भने ३ वटामा कांग्रेसले जीतेको हो।

रामपुरमा भने गणना जारी छ। त्यहाँ एमालेका उम्मेद्वार राजुप्रसाद श्रेष्ठ अगाडि छन्।

तानसेनमा एमालेका अशोककुमार शाहीले ७६७१ मत ल्याएर विजयी भएका छन्। उनले कांग्रेसका अजयमान कर्मचार्यलाई पराजित गरेका हुन्। कर्मचार्यले ५५१७ मत ल्याए। उपमेयरमा समेत एमालेकी लक्ष्मी पाठक विजयी भएकी छिन्।

त्यस्तै पाल्पाको तिनाउ गाउँपालिकाबाट एमालेका अमबहादुर घर्ती, निस्दीबाट मुक्तबहादुर सारु र पूर्वखोलाबाट नुनबहादुर थापा विजयी भएका छन्।

त्यसैगरि रम्भाबाट विष्णुप्रसाद भण्डारी विजयी भएका छन् भने रिब्दीकोटबाट नारायणबहादुर जिसीले जीत हात पारेका छन्। रम्भामा उपाध्यक्षमा एमालेकै राधाकुमारी श्रेष्ठ विजयी भएकी छिन् भने रिब्दीकोटमा एमालेकै लक्ष्मी खनाल निर्वाचित भएकी छिन्।

नेपाली कांग्रेसले पाल्पाको तीन स्थानमा जीत निकालेको छ। पाल्पाको माथागढी गाउँपालिका, रैनादेवी छहरा र बगनासकली गाँउपालिकामा कांग्रेसले जीत हात पारेको छ। कांग्रेसका सन्तोषकुमार थापा माथागढीबाट विजयी भएका छन्।

त्यस्तै रैनादेवी छहरामा नेपाली कांग्रेसका राबहादुर कार्की विजयी भएका छन्। बगनासकली गाउँपालिकामा पनि कांग्रेसकै कृष्णप्रसाद बस्याल निर्वाचित भएका छन्।

गुल्मी : एमालेको अग्रता, तीन स्थानको गणना जारी

गुल्मीमा १२ स्थानीय तह मध्ये अधिकाशंमा एमालेले जीत हात पारेको छ। रेसुङ्गा र मुसीकोट नगरपालिका सहित एमालेले रुरु र मालिका गाउँपालिका पनि जितेको छ।

रेसुङ्गामा डिल्लीराज भुषाल विजयी भएका छन् भने मुसिकोटमा सोमनाथ सापकोटा विजयी भएका छन्। दुवै नगरपालिकामा उपमेयर समेत एमालेले जितेको छ।

त्यस्तै एमालेका नीलकण्ठ उप्रेती रुरु गाउँपालिकाबाट, रितबहादुर थापा मालिकाबाट विजयी भएका हुन्। त्यसैगरि छत्रकोट गाउँपालिकामा एमालेका मधुकृष्ण पन्त विजयी भएका छन्।

गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकामा भने कांग्रेसका अशोककुमार थापा र द्रोणबहादुर खत्री विजयी भएका छन्। कांग्रेसले सत्यवती गाउँपालिकामा जीत हात पारेको छ। कांग्रेसका पारिश्वर ढकाल अध्यक्ष पदमा विजयी भएका हुन्।

धुर्कोटमा भने माओवादी केन्द्रले जीत हात पारेको छ। केन्द्रका भूपाल पोखरेल अध्यक्षमा विजयी भएका हुन्। त्यहाँ कांग्रेसका शिबबहादुर खत्री उपाध्यक्ष निर्वाचित भएका छन्।

गुल्मीको इस्मा र मदानेमा एमाले अगाडि छ।  कालिगण्डकीमा भने कांग्रेस अगाडि छ।

प्यूठान : तीन एमाले, तीन कांग्रेस

प्यूठानमा समान तीन तीन स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेले जीत हात पारेका छन्। प्यूठानको स्वर्गद्वारी नगरपालिका सहित दुई स्थानमा एमाले विजयी भएको छ। कांग्रेसले पनि तीन तहमा जीत हात पारेको छ। दुईमा राष्ट्रिय जनमोर्चाले जीत हात पारेको छ।

राष्ट्रिय जनमोर्चले झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकामा जीत हात पारेको छ। झिमरुकमा राजमोका तिलबहादुर जिसी अध्यक्षमा र उपाध्यक्षमा पवित्रा जीसी विजयी भएका छन्। त्यस्तै मल्लरानीमा अमरध्वज राना अध्यक्षमा र उपाध्यक्षमा सरिता जीसी विजयी भएका छन्।

स्वर्गद्वारी नगरपालिकामा भने एमालेले जीत हात पारेको छ। स्वर्गद्वारीमा नेत्रबहादुर रोकाय मेयरमा र उपमेयरमा गोमा रेग्मी विजयी भएका हुन्।

त्यस्तै एमालेले सरुमारानी र माण्डवी गाउँपालिकामा जीतेको छ। सरुमारानीमा एमालेका झगबहादुर बिक विजयी भएका हुन्। उपाध्यक्षमा पनि एमालेकै मीना सोमैले जीतेकी छीन्। त्यस्तै माण्डवी गाँउपालिका अध्यक्षमा श्रीधर रोक्का विजयी भएका छन्। उनले १२ मतले माओवादी केन्द्रका नवराज अधिकारीलाई हराएका हुन्। उपाध्यक्षमा भने माओवादी केन्द्रकी मुगा पुनले जीतेकी छिन्।

कांग्रेसले ऐरातवती र गौमुखी गाउँपालिकामामा जीत हात पारेको छ। कांग्रेसका नविनबिक्रम शाह ऐरावतीमा विजयी भएका हुन्। उपाध्यक्ष भने माओवादी केन्द्रका बुद्धबहादुर बस्नेत विजयी भएका छन्। गौमुखीमा कांग्रेसका विष्णुकुमार गिरी प्रमुखमा र तुलसी सुनार उपप्रमुखमा विजयी भएका हुन्। त्यस्तै कांग्रेसले नौवहिनीमा पनि जीत हात पारेको छ। कांग्रेसका शिव रिजाल अध्यक्ष निर्वाचित भएका हुन्। उपाध्यक्ष भने माओवादी केन्द्रका धनबहादुर बुढा निर्वाचित भएका छन्।

माओवादी केन्द्र गणना जारी रहेको प्यूठान नगरपालिका अगाडि छ।

अर्घाखाँचीमा नेपाली कांग्रेसले अधिकाशं स्थानीय तहमा जीतको झण्डा गाडेको छ। छ स्थानीय तह रहेको अर्घाखाँचीमा सितगंगा नगरपालिका सहित छत्रदेव गाउँपालिका र पाणिनीमा कांग्रेसले जीत हात पारेको हो।
छत्रदेवमामा कांग्रेसका लेखनाथ पोखरेल विजयी भएका छन्। सितगंगा नगरपालिकामा नेपाली कांग्रेसका सूर्यप्रसाद अधिकारी मेयरमा निर्वाचित भएका छन्। उनले एमालेका वसन्तकुमार श्रेष्ठलाई पराजित गरेका हुन्।

माओवादी  र कांग्रेसले अर्घाखाँचीमा गठबन्धन गरेका थिए। उपमेयरमा भने माओवादी केन्द्रकी टीका रेग्मी विजयी भएकी छिन्। रेग्मीले एमालेकी गिता भाटलाई पराजित गरेकी हुन्।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेका बालकृष्ण आचार्य विजयी भएका छन्। आचार्यले माओवादी र कांग्रेसका गठबन्धन उम्मेद्वार पदम क्षेत्रीलाई पराजित गरेका हुन्। क्षेत्री माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार हुन्। त्यस्तै उपप्रमुखमा पनि एमालेकी प्रमिला क्षेत्री विजयी भएकी छिन्। क्षेत्रीले कांग्रेसकी सीता खनाललाई पराजित गरेकी हुन्।

सन्धिखर्क नगरपालिकामा पनि कांग्रेस र माओवादी गठबन्धन अगाडि छ। माओवादी केन्द्र भूमीकास्थानमा अगाडि छ।

नवलपरासीमा ७ स्थानीय तहमा निर्वाचन भएकोमा अधिकाशंको नतिजा सार्वजनिक भएको छ। त्रिवेणी सुस्तामा एमाले विजयी भएको छ। एमालेका रामप्रसाद पाण्डले सुस्ता जितेका हुन्। कांग्रेसका राजकुमार शर्मा प्रतापुरबाट र भीमबहादुर थापा सुनवल नगरपालिकाबाट विजयी भएका छन्। सरवालमा भने फोरम लोकतान्त्रिकका राधेश्याम चौधरी थारु विजयी भएका छन्।

पाल्हीनन्दन, बर्दघाट र रामग्रामको गणना जारी छ। पाल्हीनन्दनमा माओवादी केन्द्र अगाडि छ, रामग्राममा र बर्दघाटमा कांग्रेस अगाडि छ।

रुपन्देहीमा : एमाले जीतका साथ अगाडि बढ्दै, अधिकांशमा अगाडि

रुपन्देहीका १६ स्थानीय तह मध्ये केहीको मात्र हालसम्म मतपरिणाम आएको छ। शुद्धोधन गाउँपालिकामा एमाले अध्यक्ष र उपाध्यक्ष जीतेको छ। अध्यक्षमा किशुनचन्द्र अधिकारी र उपाध्यक्षमा शान्ता ज्ञवाली विजयी भएका हुन्।

रूपन्देहीको कञ्चन गाउँपालिकामा पनि एमाले विजयी भएको छ। अध्यक्षमा गोकर्णबहादुर क्षेत्री र उपाध्यक्षमा एमालेकै गोमा तरामु विजयी भएकी छिन्।

कपिलवस्तुको पनि यशोधरा र विजयनगरको मतपरिणाम सार्वजनिक भएको छ। यशोधरामा कांग्रेसका गिरजेशकुमार पाण्डे अध्यक्षमा विजयी भएका हुन्। उपाध्यक्षमा पनि कांग्रेसकै कन्यावती उपाध्याय विजयी भएका छन्।

विजयनगरमा भने एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ। अध्यक्षमा एमालेका गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी चौधरी विजयी भएका हुन्।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका, वाणगंगामा कांग्रेस अगाडि छ।

शुद्धोधन, शिवराज र बुद्धभूमीमा भने एमाले अगाडि छ। कृष्णनगरमा स्वतन्त्र उम्मेद्वार अगाडि छन् भने महाराजगञ्जमा पनि स्वतन्त्र उम्मेद्वार नै अगाडि छन्। स्वतन्त्र हैसियतामा निर्वाचनमा सहभागि भएका उनीहरु राजपाका हुन्।  मायादेवीमा भने संघीय समाजवादी पार्टी अगाडि छ।

बर्दियाको हालसम्म एकमात्र मतपरिणाम आएको छ। गुलरियामा कांग्रेसका मुक्तिनाथ यादव विजयी भएका छन्। बाँकी सात स्थानीय तहको नतिजा आउन बाँकी छ। जसमध्ये गेरुवामा मात्र कांग्रेस अगाडि छ।

ठाकुरबाबा, बढैयाताल र बासगढीमा एमाले अगाडि छ। बारबर्दिया, राजापुर र मधुवनमा माओवादी केन्द्र अगाडि छ।

बाँकेको पनि एकमात्र तहमा रिजल्ट सार्वजनिक भएको छ। नरैनापुरमा संघीय समाजवादीका इश्तियाक अहमद शाह विजयी भएका हुन्। बाँकी सात तहको मतगणना जारी छ। नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाका धवलशमशेर राणा अगाडि छन्।

कोहलपुर, बैजनाथ र खजुरामा एमाले अगाडि छ। जानकीमा माओवादी केन्द्र अगाडि लागेको छ। कांग्रेस राप्ती सोनारी र डडुवामा अगाडि छ।

दाङमा गढवा र दंगीशरणमा एमाले विजयी भएको छ। एमालेका सहजराम यादव गढवामा विजयी भएका हुन् भने दंगीशरणमा भागिराम चौधरी विजयी भएका हुन्।

राजपुर र शान्तिनगरमा भने कांग्रेसले जितेको छ। राजपुरमा कांग्रेसका लोकराज केसी विजयी भएका छन् भने शान्तिनगरमा कमानसिंह डाँगी विजयी भएका छन्।

दाङका दुई हेभिवेट उपमहानगरपालिका तुलसिपुर र घोराहीमा नेकपा एमालेका उम्मेद्वार अगाडि छन्। कांग्रेसका उम्मेद्वार लमहि नगरपालिकामा अगाडि छन्। राप्ती गाउँपालिकामा पनि कांग्रेस नै अग्रस्थानमा छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.