७ तह रहेको धनकुटामा एमालेको ‘क्लिन स्वीप’


प्रदेश नं १ अन्तर्गतको धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामा विजयी हुँदै एमालेले ‘क्लिन स्वीप’ गरेको छ।

धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ र उपमेयरमा एमालेकै शकुन्तला बस्नेत विजयी भए। मेयरमा विजयी तामाङ ४ हजार ९३३ मत ल्याए भने कांग्रेसका दिनेश राईले ४ हजार ८१९ मत प्राप्त गरे।

उपमेयरमा बस्नेतले ५ हजार ११२ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका रेणु श्रेष्ठले ३ हजार ३९२ मात्रै ल्याइन्।

पाख्रिवास नगरपालिकामा एमालेका विर्षबहादुर राई ४ हजार ४३९ मत ल्याई विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै देवकला तिम्सिना ४ हजार ४२६ मत ल्याई विजयी भइन्। दोस्रो स्थानमा रहेका कांग्रेसका इन्दिरा थापाले १ हजार ६२८ तथा उपमेयरमा कांग्रेसकै ज्ञानबहादुर गुरुङ १ हजार ८३३ मत मात्र प्राप्त गरे ।

महालक्ष्मी नगरपालिकामा एमालेकै पर्शुराम नेपाल ४ हजार ९८७ मत ल्याई विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै मञ्जु अधिकारीले ४ हजार ५३५ मत ल्याई निर्वाचित भइन् ।

उनका निकटतम प्रतिद्धन्दी राप्रपा समर्थित कांग्रेस उमेदवार अग्नीप्रसाद पौडेलले ३ हजार १५६ मत ल्याए।

खाल्सा छ्रिन्ताङ गाउँपालिकामा नेकपा एमालेका मनोज राईले ४ हजार ५४ मत ल्याई माओवादी–कांग्रेस गठबन्दनका भरतसिंह राईलाई पराजित गरे।

माओवादी केन्द्रका कांग्रेस समर्थित भरतसिं राईले १ हजार ५७९ मत ल्याएका छन्। त्यस्तै, एमालेकै रत्नेश्वरी राईले ३ हजार ९१६ मत ल्याई १ हजार ४९६ मत ल्याएकी कांग्रेसकी कमलकुमारी राईलाई पराजित गरेकी हुन्।

चौबिसे गाउँपालिकामा एमालेका खजिन्द्र राईले ३ हजार ७८४ मत ल्याई संघीय समाजवादी समर्थित कांग्रेस उम्मेदवार हर्क चेम्जोङलाई हराए। चेम्जोङले ३ हजार ३ सय ७९ मत ल्याए ।

उपप्रमुखमा एमालेका यज्ञकुमारी रूचालले ३ हजार ६९६ मत ल्याउँदै कांग्रेस समर्थित संघीय समाजवादीका उमेदवार उपेन्द्र लावतीलाई हराइन्। लावतीले २ हजार ६ सय ९९ ल्याए।

छथर जोरपाटी गाउँपालिकामा एमालेका शेरबहादुर लिम्बू अध्यक्ष तथा एमालेकै भीमकला श्रेष्ठ उपाध्यक्षमामा विजयी भएका छन्। शेरबहादुरले ३ हजार ३४९ मत ल्याए भने उनका निकतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका विष्ण पारघरीले १ हजार ५३१ मत मात्रै ल्याए ता उपाध्यक्षमा भीमकलाले ३ हजार २८९ मत ल्याउँदा माओवादीकी गीता गुरुङले २ हजार ७३ मत ल्याइन् ।

सागुरीगढी गाउँपालिकामा पनि एमालेकै उमेदवार कुमारजंग याख्या अध्यक्ष र उपाध्यक्षमा पनि विन्द्रा राईले ४ हजार २९ मत ल्याई विजयी भइन्। संघीय समाजवादी समर्थित कांग्रेसका जितेन्द्र राई ३ हजार ३३३ मत ल्याई दोस्रो स्थानमा रहे भने उपाध्यक्षमा कांग्रेस समर्थित नयाँ शक्तिका उमेदवार बलबहादुर राईले २ हजार २६० मत मात्रै प्राप्त गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.