नगरमा कांग्रेस, गाउँमा एमाले र माओवादी


दोस्रो चरणमा निर्वाचन भएका तीन प्रदेशका ९७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। शनिबार दिउँसोसम्म १२ नगरपालिकासहित ९७ स्थानीय तहको मत परिणाम आइसकेको छ। पहिलो चरणको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले दोस्रो चरणमा पनि अग्रता कायम राखेको छ। एमालेले ९७ स्थानीय तहमध्ये ४३ तहमा जित हासिल गरेको छ।  नेपाली कांग्रेसले भने ३५ स्थानीय तहमा जितेको छ। माओवादी केन्द्रले १७ स्थानीय तह जितेको छ।

पहिलो चरणको चुनावमा धेरै नगर जितेको एमालेले दोस्रो चरणमा भने नगरभन्दा गाउँमा धेरै स्थान जितेको छ। अहिलेसम्म मतपरिणाम सार्वजनिक भएकामध्ये ४ नगरमात्र एमालेले जितेको छ। डडेल्धुराको अमरगढी, संखुवासभाको मादी, गुल्मीको रेसुंगा र धनकुटाको पाख्रिबास नगरमा एमाले विजयी भएको छ।

पहिलो चरणमा एमालेभन्दा कम नगरमा जित हात पारेको कांग्रेस भने यसपटक नगरमा हाबी भएको छ। कांग्रेसले १२ मध्ये ८ नगर जितेको छ। बाजुराका बडीमालिका र त्रिवेणी, दार्चुलाका महाकाली र शैल्यशिखर, भोजपुरको भोजपुर, बैतडीको दशरथ चन्द, बझाङको बुंगल र अछामको कमलबजारमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

मतगणना जारी प्रदेश नम्बर सातका पहाडी जिल्लाका धेरै नगरमा पनि कांग्रेस उम्मेदवारको अग्रता छ।

तेस्रो स्थानमा रहेको माओवादीले भने अहिलेसम्म कुनै नगरमा खाता खोल्न सकेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.