आसन्न स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका नेता झापा आउने क्रम बढेको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका ठूला नेता आफ्नो उम्मेदवारका पक्षमा जित दर्ज गराउन जिल्ला आउने क्रम बढेको हो । इलाम, पाँचथर र ताप्लेजुङ जान हवाइमार्गबाट झापा पहिला आउनुपर्ने भएकाले प्रायः दलका नेताहरु यहाँ आएर एक दुई कार्यक्रममा सहभागी हुने गरेका छन् ।
चुनावी अभियानकै क्रममा केही दिनअघि झापा आउनुभएका काँग्रेस युवा नेता गगनकुमार थापाले काँकरभिट्टा, धुलाबारीलगायत स्थानमा पार्टीले आयोजना गरेको चुनावी सभामा सम्बोधन गरेका थिए। चुनावी अभियानकै क्रममा उनी पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथर गएका छन्।
त्यस्तै तीन दिनअघि काँग्रेस नेता डा रामशरण महत काँकरभिट्टा र शनिश्चरेको चुनावी गतिविधिमा सहभागी भएका थिए। झापा धुलाबारीका काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा जिल्ला दौडाहामा व्यस्त छन् । उनी १५ वटै स्थानीय तहको चुनावी प्रचार अभियानमा जुटेका छन् । काँग्रेस झापा सभापति उद्धव थापाले उम्मेदवारको मनोबल बढाउन अन्य शीर्ष नेता जिल्ला आउने बताए।
सोमबार मात्र काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेस बिर्तामोडमा कार्यकर्तासँग भेटघाट गर्दै परिणाम आफ्नो पक्षमा पार्न दिलोज्यान दिएर लाग्न निर्देशन दिए।
त्यस्तै चुनावी अभियानकै क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि सोमबार झापा आएका छन्। गृहनगरमा एमालेको बलियो उपस्थिति बनाउन उनी यहाँ आएका हुन् । झापा आएलगत्तै उनले कनकाई नगरपालिकाको चुनावी सभालाई सम्बोधन र दमकमा अगुवा कार्यकर्तासँग भेटघाट गरेका थिए।
आज उनले दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गरे। बुधबार अर्जुनधारा र मेचीनगर तथा बिहीबार गौरादहको चुनावी सभालाई सम्बोधन गरेर उनी काठमाडौँ फर्कने कार्यक्रम रहेको एमाले झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन्।
त्यस्तै एमाले पोलिटब्युरो सदस्य अग्नि खरेल झापाको १५ वटै स्थानीयका उम्मेदवार सार्वजनिक कार्यक्रममा सहभागी भएर हाल चुनावी अभियानकै क्रममा जिल्लामा छन् । सांसद जितु गौतम कचनकवल गाउँपालिकामा चुनावी अभियानमा क्रियाशील छन् ।
यता चुनावी अभियानकै सिलसिलामा माओवादी केन्द्रका केन्द्रीय नेता राम कार्की, केन्द्रीय कार्यालय सदस्य वेद गुरुङ, नेता अग्निप्रसाद सापकोटालगायत नेता झापा आउन लागेको पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङले जानकारी दिए।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन गृह जिल्लामै व्यस्त छन्। चुनावी कार्यक्रमका लागि अन्य शीर्ष नेता झापा आउने कार्यक्रम रहेको पार्टीका जिल्ला अध्यक्ष अम्बरबहादुर विष्टले जानकारी दिए। रासस