असार १४ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पत्राचार

असार १४ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पत्राचार


निर्वाचन आयोगले यही असार १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा मतदानका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा परिचालन हुनुपर्ने भएकाले सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ हुने जनाउँदै आयोगले ती जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए

स्थानीय तहको निर्वाचनमा मतदान सञ्चालन गर्ने सन्दर्भमा दोस्रो चरणमा निर्वाचन हुने ३३४ स्थानीय तहका अधिकांश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको जानकारी दिँदै आयोगले ती जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसमा यही असार ११ देखि असार १४ गतेसम्म सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पनि शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । 

आयोगले सार्वजनिक, संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा भएको खण्डमा मतगणना सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

त्यस्तै निर्वाचन सञ्चालनका लागि कतिपय मतदान केन्द्र गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायत सार्वजनिक भवन र परिसरमा तोकिएको हुँदा स्थानीय तह निर्वाचनको मतदान प्रयोजनका लागि त्यस्ता भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने पनि आयोगबाट निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए। 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.