कुरा एउटासँग, लगनगाँठो अर्कैसँग

 कुरा एउटासँग, लगनगाँठो अर्कैसँग


विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच स्थानीय निर्वाचनमा तालमेल गर्नेगरी धेरै अघिदेखि छलफल र तयारी चल्दै थियो।

शुरूमा एउटै पार्टीमा रहेका यादव र गच्छदारबीच फोरम विभाजन पछि देखिएको पानी बाराबारको स्थिति पछिल्लो समयमा मेटिदै गएको थियो।

लामो समयदेखि बोलचाल पनि बन्द भएका यादवले केही महिनादेखि मन्त्रालयमै गएर गच्छदारसँग धेरै बेर भेट्ने, छलफल गर्ने गरेका थिए।

दुई पार्टीका नेताबीच दीर्घकालमा पार्टी एकता गर्ने र तत्कालका लागि कार्यगत एकता गरेर चुनावमा जानेसम्मको सहमति भएको नेताहरुले अनौपचारिक रुपमा बताउन थालेका थिए।

तर दोस्रो चरणको निर्वाचनमा उम्मेद्वार मनोनयको समयसम्म आइपुग्दा यी दुई पार्टीबीच केही सिमित ठाँउमा बाहेक तालमेल हुने सकेको छैन।

बरू कतिपय महत्वपूर्ण ठाँउमा यी दुई पार्टी एक अर्काको आमने सामने भएका छन्।

यी दुवै पार्टीको बलियो उपस्थिति रहेको विराटनगर महानगरपालिकामा उनीहरू दुई विपरीत गठबन्धनमा जोडिन पुगे।

‘कुरा एउटासँग लगन गाँठो अर्कोसँग’ जोडिए जस्तो भएको छ।

विराटनगरमा दुई फोरमका बीचमा तालमेल भएको भए उनीहरुको गठबन्धनले नेपाली कांग्रेसलाई बलियो टक्कर दिन सक्ने आँकलन गरिएको थियो।

दोस्रो संविधानसभाको चुनावमा महानगरका केही क्षेत्र पर्ने ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक फोरम दोस्रो भएको थियो। महानगरमै पर्ने निर्वाचन क्षेत्र नम्बर पाँचमा त संघीय समाजवादीका नेता उपेन्द्र यादव जम्मा ३ हजार मतले कांग्रेससँग हारेका थिए। महानगरमा अहिले पनि दुवैको जोड्दा बीस हजार  हाराहारी मत हुन्छन्। जबकि कांग्रेसकै पनि ३० हजार भोट भएको अनुमान छ।

दुवै फोरम एकै ठाँउमा उभिएको भए महानगरको थारू तथा अन्य आदिवासी मधेसी, यादव र बजार क्षेत्रको व्यापारी भोट यही गठबन्धनका पक्षमा एक हुने सम्भावना हुन्थ्यो।

तर यो अवसरबाट दुवै पार्टी चुकेका छन्।

विराटनगरमा लोकतान्त्रिक फोरमले एमालेसँग चुनावी तालमेल गरेको छ भने समाजवादी फोरमले माओवादी केन्द्रसँग तालमेल गरेको छ।

तल्लो तहका कार्यकर्तालाई बुझाउन र मिलाउन नसकेकोले दुई पार्टीबीच चुनावी तालमेल हुन नसकेको नेपाल लोकतान्त्रिक फोरमका नेता योगेन्द्र चौधरीले सेतोपाटीलाई बताए।

संघीय समाजवादीको भने यसमा अर्कै बुझाइ छ। समाजवादी फोरमका नेता शिवजी यादव लोकतान्त्रिक फोरम नै तालमेलबाट पछि हटेको जिकिर गर्छन्।

तर संघीय सममाजवादीका पूर्वजिल्ला अध्यक्ष तथा विराटनगर महानगरको मेयर उम्मेद्वार उमेश यादवले लोकतान्त्रिकसँग आफ्नो एजेन्डा नमिलेकाले तालमेल हुन नसकेको जनाए।

‘मधेसी जनताको अधिकारका लागि समाजवादी फोरम जुन किसिमले लडिरहेको छ, लोकतान्त्रिक फोरम मधेसी जनताको अधिकार स्थापित गर्ने एजेन्डामा कहिल्यै मिलेन। दोस्रो मधेस आन्दोलनमा उसको सहयोग सद्भाव रहेन। त्यसैले लोकतान्त्रिकसँग एकता उचित हुँदैन,’ उनले भने।

उनका कुरा सुन्दा विराटनगरमा समाजवादी फोरमका स्थानीय नेताहरुले नै लोकतान्त्रिक फोरमसँग तालमेल गर्न नचाहेको बुझिन्छ।

उनलाई हेरेर फोरम लोकतान्त्रिकका स्थानीय नेताको भनाई केही ‘सफ्ट’ छ।

राम्रो गृहकार्य नपुगेको भएर समाजवादीसँग तालमेल हुन नसकेको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष भक्ति माझीले सेतोपाटीलाई बताए।

‘फोरमसँग तालमेल गर्ने विषयमा एक पटक कुरा भएको हो। त्यसपछि फेरि कुरा हुन सकेन। हामी यता एमालेसँग तालमेल गरेर जाने विषयमा अगाडि बढ्यौँ,’ उनले भने, ‘कांग्रेस बाहेक सबै दलसँग तालमेलको विषयमा कुरा भएको थियो। संघीय फोरमसँग कुरा अगाडि बढ्न नसकेकाले तालमेल भएन। सैद्धान्तिक विषयमा कुरा नमिलेर वा पूर्वाग्रह भएर होइन।’

समाजवादी फोरमका  जिल्ला अध्यक्ष यादवका अनुसार, पहिलो संविधानसभामा महानगरपालिका पनि मिसिएका तीन वटै चुनावी क्षेत्र ५, ६ र ७ फोरमले जितेको थियो, फुटका कारण दोस्रो संविधानसभामा परिणाम राम्रो आएन।

‘लोकतान्त्रिकसँग तालमेल गर्दा जनताको अधिकार समेटिन्न। माओवादी केन्द्र परिवर्तनकारी शक्ति भएका कारण हाम्रो एजेन्डा मिल्छ भनेर तालमेल भएको हो,’ उनले भने, फुटका कारण दोस्रो संविधानसभामा परिणाम हाम्रो पक्षमा नआए पनि कांग्रेसपछि दोस्रो शक्तिका रुपमा स्थापित छौं। माओवादीसँगको चुनावी तालमेलले हाम्रो जित थप सुनिश्चित भएको छ।’

राजनीति सधैं चाहे जस्तो नहुने भन्दै लोकतान्त्रिक फोरमका चौधरीले राम्रो गृहकार्यको अभावमा चुनावी तालमेल हुन नसकेको स्वीकारे।

‘हामीले जहाँ जोसँग तालमेल गर्न सम्भव भयो उनीहरुसँग तालमेल गरेका छौं,’ चौधरीले भने, ‘मधेस थारुहट आन्दोलनको हितको निम्ति दुई पार्टीको तालमेल जरुरी थियो तर गृहकार्यको अभावमा सोचे जस्तो भएन।’

थ्रेसहोल्ड लगायतका विषयले दुई पार्टीबीच एकता अनिवार्य बनाएको चौधरीको बुझाइ छ। उनले आगामी केन्द्रीय निर्वाचनसम्ममा दुई पार्टी एक हुने दाबी गरे। साथै दुई नम्बर प्रदेशको निर्वाचनमा पनि तालमेल हुने बताए ।

‘अझै पनि तालमेलका लागि हाम्रो प्रयास भइरहेको छ। उमेद्वारी फिर्ता गर्ने समयसम्म पनि प्रयास जारी रहन्छ,’ समाजवादी फोरमका नेता अभिषेक प्रताप शाहले सेतोपाटीसँग भने, ‘पाँच नम्बर प्रदेसको निर्वाचनमा अझै तालमेल हुने सम्भावना कायमै छ।’

आफ्नो प्रयासका बावजुद विराटनगरमा लोकतान्त्रिक फोरम तालमेलबाट पछि हटेको बताउने संघीय समाजवादी फोरमका नेता शिवजी यादव पनि तेस्रो चरणको निर्वाचनमा तालमेल हुनेमा विश्वस्त देखिए। ‘अझै दुई नम्बर प्रदेशको निर्वाचन हुन बाँकि नै छ, हामी त्यहाँ तालमेलको प्रयासलाई जारी राख्छौं’ यादवले भने।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.