रेणुका लागि भोट माग्न प्रधानमन्त्री र देउवा चितवन जादैं

रेणुका लागि भोट माग्न प्रधानमन्त्री र देउवा चितवन जादैं




भरतपुरबाट मेयरका लागि उम्मेदवारी दिएकी प्रधानमन्त्री पुत्री रेणु दाहालको प्रचार–प्रसारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवा चितवन जाने भएका छन्।

मेयर र उपमेयरमा चुनावी तालमेल गरेका काँग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा गर्न लागेको संयुक्त आमसभालाई सम्बोधन गर्न उनीहरु जान लागेका हुन्।

आमसभा चितवन प्रहरी कार्यालय नजिकै रहेको गेष्ट हाउस चौरमा बिहीबार हुँदैछ।

दाहाल र देउवाले सम्बोधन गर्ने आमसभाको तयारीमा आफूहरु लागेको नेपाली काँग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले सेतोेपाटीलाई बताए।

‘भोलिको आमसभाको लागि सबै तयारी लगभग सकिएको छ,’ नेकपा माओवादी केन्द्र चितवनका संयोजक यमबहादुर परियारले भने,‘एघार बजे कार्यक्रम तय गरिएको छ। उहाँहरु बाह« बजेसम्म आइपुग्नुहुन्छ होला।’

दाहाल र देउवाको भरतपुर जाने कार्यक्रम तय भइसकेको तर समय भने तय नभएको प्रधानमन्त्रीको निजी सचिवालयका उप–स्वकीय सचिव मनोहर तिमल्सिनाले बताए ।

काँग्रेस र माओवादी केन्द्रबीचको तालमेल अनुसार रेणु मेयरको र काँग्रेसकी पार्वती शाह उपमेयरको उमेदवार बनेका छन्।

केन्द्रमा दुई पार्टीबीच चुनावी तालमेल भएपछि आक्रोशित चितवनका काँग्रेस कार्यकर्ताहरुले देउवाको पुत्ला समेत जलाएका थिए। काँग्रेसबाट मेयरको उम्मेदवार बनेका दिनेश कोइरालाको उम्मेदवारी फिर्ता भएको थियो।

मेयर र उपमेयरमा तालमेल भएपनि वडामा भने छुट्टाछुट्टै निर्वाचन लडेका छन्। भरतपुर महानगरपालिकाको २९ वडामा गरी १ लाख ५० हजार २ सय ७४ मतदाता छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.