राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको पहिलो अधिवेशनबाट योगेन्द्र केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ।
लामो समयदेखि यातायात व्यवसायका क्षेत्रमा लागेका केसी पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पूर्वअध्यक्ष हुन्।
समितिको उपाध्यक्षमा संगीता गौतम, सचिवमा कमल बानियाँ, सहसचिवमा सरिता शर्मा र कोषाध्यक्षमा विष्णुहरी तिमिल्सिना निर्वाचित भएका छन्।
समितिमा १९ जना सदस्य छन्। कुल २५ जना कार्यसमिति रहनेमा २३ जना सर्वसम्मत निर्वाचित भएका छन् भने २ जना अध्यक्षले मनोनयन गर्ने रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले बताए।
अधिवेशनले केन्द्रीय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनका लागि पनि प्रतिनिधि चयन गरेको छ। महाधिवेशन प्रतिनिधिमा दामोदर त्रिपाठी, तिलप्रसाद पौडेल, भरत तिवारी र शिवप्रसाद बराललाई चयन गरेको छ।
यस्तै, प्रदेश प्रतिनिधिमा दीपेन्द्र पोखरेल, सोमनाथ दाहाल, कृष्णप्रसाद भण्डारी र सञ्जीवभक्त आचार्य चयन भएका छन्। जिल्ला अधिवेशनका लागि लक्ष्मी परियार, राजु भुजेल, सीता चापागाईँ र विजय विक्रम दाहाल चयन भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै पर्यटन मन्त्री गनेस पौडेलले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटले सबै क्षेत्रलाई समेटेको बताए।
गण्डकी प्रदेश र पोखराको पर्यटन क्षेत्रमा बजेटले सम्बोधन गरेको भन्दै उनले पदमार्ग, साइकल रुट लगायतका विषय बजेटमा समेटिएको बताए।
अधिवेशनमा सम्बोधन गर्दै रास्वपा प्रवक्ता मनीष झाले पार्टीमा मिलेर जान आग्रह गरे। पदबाट भन्दा पनि कामबाट कद अग्लो बनाउनुपर्ने भन्दै उनले संगठनलाई अप्ठ्यारोमा नपार्न आग्रह गरेका थिए।
अधिवेशनमा रास्वपा सांसद उत्तम पौडेल लगायतले सम्बोधन गरेका थिए।