ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ समकक्षी सी चिनफिङले चेतावनी दिएका छन्।
झन्डै एक दशकपछि चीनको भ्रमणमा आएका बहालवाला अमेरिकी राष्ट्रपतिसँग सुरूआतमै उनले कडा टिप्पणी गरेका हुन्।
बिहीबार मध्य बेइजिङमा स्वागत समारोहपछि दुई नेताहरूले 'ग्रेट हल अफ द पिपल' मा झन्डै साढे दुई घण्टा कुराकानी गरे। बैठक जारी रहकै बेला सीको सो टिप्पणी चीनले सार्वजनिक गरेको भनेर ब्लुमबर्गले लेखेको छ।
'ताइवानको मुद्दा चीन-अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो। यदि यसलाई गलत तरिकाले व्यवस्थापन गरियो भने दुई राष्ट्रहरूबीच टक्कर वा संघर्ष हुन सक्छ। जसले समग्र चीन-अमेरिका सम्बन्धलाई अत्यन्तै खतरनाक स्थितिमा धकेल्नेछ,' सीको टिप्पणी उद्धृत गर्दै चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनायो।
पछिल्ला महिनाहरूमा एक वर्षको व्यापारिक युद्धविरामले अमेरिका-चीन सम्बन्धलाई केही स्थिर बनाएको भए पनि ताइवान अझै पनि सम्बन्ध तिक्त बनाउने मुद्दा बनेको छ।
चीनले आफ्नो भूभाग मान्ने ताइवानलाई अमेरिकाले पठाउन लागेको सैन्य हतियारको प्याकेजको चीनले विरोध गरेको छ।
साथै, अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन भन्ने कुरा स्पष्ट पार्न पनि अमेरिकासँग माग गरेको छ।
वार्तापछि सी र ट्रम्पले 'टेम्पल अफ हेभन' को भ्रमण गर्दा पत्रकारहरूले ताइवानबारे ट्रम्पलाई प्रश्नहरू सोधेका थिए, जसलाई उनले वास्ता गरेनन्। अमेरिकी पक्षले अहिलेसम्म यसबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)