सरकारले विधि र प्रक्रिया मिचेर सुकुम्बासी बस्ती खाली गराउने तयारी सुरू गरेपछि त्यस्ता बस्तीमा बसोबास गर्ने भूमिहीन सुकुम्बासीहरू बिचल्लीमा परेका छन्।
सरकारले सकभर शनिबार एकैदिनमा वा आइतबारभित्र काठमाडौंका सबै सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।
हामीले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा यसको कस्तो प्रभाव परेको छ भनेर हेरेका छौं।
शुक्रबार साँझ ५ बजेतिर हामी थापाथलीको सुकुम्बासी बस्ती पुग्दा त्यहाँका बसोबासी भयभीत र अन्यौलको अवस्थामा देखिन्थे।
सरकारले बल प्रयोग गर्ला भन्ने डरले यहाँका कतिपय बसोबासीले आफन्त र साथीभाइको सहयोगमा कोठा खोजेका छन्। उनीहरू अबेरसम्म आफ्नो झुपडीका सामान पोको पार्न र गाडीमा सार्न व्यस्त देखिन्थे।
सबभन्दा बेहाल कोठा नपाएका र सरेर अन्यत्र जाने ठाउँ नभएका सुकुम्बासीहरूको थियो।
उनीहरूलाई पनि शनिबार एकाबिहानै राज्यले आफ्नो झुपडीमा डोजर चलाउला र भएभरका समान अस्तव्यस्त पार्ला भन्ने डर छ। त्यही डरले उनीहरूले आफ्ना सामान पोको पारेर राखेका छन्। तर त्यसलाई सुरक्षित ठाउँमा लैजाने विकल्प पाएका छैनन्। त्यस्ता परिवारका सामान सडकछेउ असरल्ल राखिएका देखिन्छन्। अब रातभर जागै बसेर सामान रूँग्नुको विकल्प उनीहरूसँग छैन।
'अहिले पनि यहाँका मान्छे कोठा खोज्दै हिँडिरहेका छन्, सरेर जाने ठाउँ नपाएकाहरूको भने बिचल्ली छ,' उदयपुरका ५० वर्षीय गोविन्द राइगाइले भने, 'सरकारले केही दिन समय दिएको भए कोठा खोज्न पाइन्थ्यो। जिन्दगीभर कमाएर जोडेका भाँडाकुडा बचाउन सकिन्थ्यो।'
गोविन्दले केही कुखुरा पनि पालेका छन्। ती कुखुरालाई कहाँ लैजाने भन्ने अन्यौल पनि उनलाई छ। यही अन्यौलमा एउटा कुखुरा त काटेर खाएको उनले बताए।
सिन्धुपाल्चोकको सुनकोशी–५ का ६० वर्षीय कटकबहादुर थापा करिब २० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन्।
'जग्गा-जमिन केही नभएपछि गाउँ छाड्यौं, अहिले यहाँ पनि बस्ने ठेगान छैन,' उनले भने, 'रोजगारी दिन्छ भने बरू गाउँमै फर्किन तयार छौं।'
उनको ५८ वर्षीया श्रीमतीसहित ८ जनाको परिवार छ। परिवारको बिचल्ली होला भनेर उनले शुक्रबार दिनभरि कोठा खोजेका थिए। तर पाएनन्।
'भोलि डोजर चल्यो भने बिचल्ली होला भनेर आज दिनभरि कोठा खोज्दा पनि पाइनँ। डोजर चलिहाल्यो भने लगाउने लुगा पनि नहोला भनेर केही सामान जोगाएर राखेको छु,' ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका कटकबहादुरले अगाडि भने, 'दुई जना नातिनातिना छन्, छोरीहरू पढ्दै छन्। उनीहरूको भविष्यका लागि यहाँ बसेका थियौं।'
'पहिले भाग्यले ठगेर उठिबास गरायो, अब राज्यले उठिबास बनाउँदैछ,' उनले भने।
ताप्लेजुङ घर भएकी २६ वर्षीया चन्द्रकला बिक र ३१ वर्षीय मदन बिक पनि समस्यामा परेका छन्। १५ वर्षदेखि काठमाडौंमा बस्दै आएका उनीहरू दैनिक ज्यालादारी काम गरेर गुजारा गर्छन्।
'केही समय दिएको भए कोठा खोज्न पाइन्थ्यो,' चन्द्रकलाले भनिन्, 'यहाँ भत्काइयो भने केही पनि बाँकी रहँदैन।'
बस्तीमा शारीरिक रूपमा अशक्त र बुढापाका भएका परिवारको अवस्था झन् जटिल छ।
रमिला बिकका अनुसार उनका ससुरा बाढीबाट जोगिन भाग्ने क्रममा खुट्टामा चोट लागेपछि मानसिक समस्याबाट ग्रस्त छन् र अहिले हिँडडुल गर्नै नसक्ने अवस्थामा छन्।
'हामी कतै जान सक्ने अवस्था पनि छैन,' उनले भनिन्।
यसैबीच, एकाएक बस्तीबाट उठिबास भएपछि यहाँका बालबालिकाको शिक्षामा समेत असर पर्ने देखिएको छ। सामान पोको पारेर झोक्राएर बसेका एक सुकुम्बासी अभिभावकले भने, 'केटाकेटीहरू यहीँ नजिकैको विद्यालयमा पढिरहेका थिए, अब कहाँ पढाउने भन्ने अन्योल छ।'
यहाँका बसोबासीहरूले विकल्पबिना हटाउन खोजिएको गुनासो पनि गरेका छन्। उनीहरूले बसोबासको व्यवस्था र रोजगारीको ग्यारेन्टी दिन सरकारसँग माग गरेका छन्।
सिन्धुपाल्चोक मेलम्चीका ४० वर्षीय सूर्यबहादुर श्रेष्ठले बस्ने ठाउँ र रोजगारी उपलब्ध गराए जहाँ पठाए पनि जान तयार रहेको बताए।
उनकी श्रीमती गीता नेवार मिर्गौला क्यान्सरको उपचार गराइरहेकी छन्।
'श्रीमतीको उपचारमै सबै पैसा सकियो, अहिले बस्ने छत पनि खोसिँदैछ,' सूर्यबहादुरले भने।
डर, त्रास र अन्यौलबीच सुकुम्बासी बस्तीका बासिन्दाहरूको साझा माग एउटै छ — विकल्पसहित केही समय दिनु।
उनीहरूको भनाइ पनि एउटै छ, 'हामीलाई बस्ने ठाउँ र कामको व्यवस्था गरिदिए जहाँ लगे पनि हुन्छ। अचानक हटाइयो भने हाम्रो सारा जीवन सडकमा आउँछ।'
***