लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ।
प्रदेश सभाको सातौँ अधिवेशनको १५ औं बैठकले उक्त विधेयक पारित गरेको हो।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सभामुख तुलाराम घर्ती मगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरे।
बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभा बैठकमा उठेका प्रश्नहरूको जबाफ दिएका थिए।
प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेस गरे भने सार्वजनिक लेखा समितिका सभापति माया पुनले समितिको वार्षिक प्रतिवेदन पेस गरेका थिए।
बुधबारको बैठकमा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सङ्घीय सरकारले जनताप्रतिको प्रतिबद्धता भुलेको आरोप लगाए। महँगीका कारण जनता मारमा परे पनि सङ्घीय सरकारले बेवास्ता गरेको उनले बताए।
त्यस्तै प्रदेश सभा सदस्य यमबहादुर सार्कीले लामो प्रयासपछि दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तयार भएको उल्लेख गर्दै यो ऐतिहासिक उपलब्धि भएको बताए। प्रदेश सभा सदस्य सुशीला बादीले उक्त विधेयक प्रमाणीकरणपछि प्रभावकारी कार्यान्वयनका लागि सरकारले भूमिका बढाउनुपर्ने बताए।
बैठकमा प्रदेश सभा सदस्यहरू खड्ग बस्नेत, दुर्गाप्रसाद चौधरी, अर्जुनकुमार केसी, मिनाकुमारी श्रेष्ठ, यमुना रोका तामाङ र जमुना ढकालले समसामयिक विषयमा बोलेका थिए। प्रदेश सभाको सातौँ अधिवेशनको १६ औँ बैठक वैशाख १० गते बिहान साढे ११ बजे बस्ने जानकारी गराइएको छ।