राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले आज बिहानै गृहमन्त्री सुधन गुरूङलाई पदबाट राजीनामा दिन भनेको पाइएको छ।
रास्वपाका एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार गृहमन्त्री गुरूङलाई आज बिहान राजीनामा दिन सभापति र प्रधानमन्त्रीको तर्फबाट आग्रह गरिएको थियो।
अनुसन्धानका क्रममा रहेका व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरूङको कनेक्सन देखिएको पाइएको भन्दै रवि-बालेनले राजीनामा दिन भनेका थिए। यसबारे विस्तृत रूपमा छानबिन गर्नुपर्ने देखिएको भन्दै सभापति रवि र प्रधानमन्त्री बालेनले एक छानबिन समिति बनाउनेबारे छलफलसमेत गरेको ती पदाधिकारीले जानकारी दिए।
‘व्यापारी दीपक भट्टसँग गृहमन्त्री स्वयमको कनेक्सन देखियो। यसमा प्रहरीका उच्च पदस्थ अधिकारी र सम्पत्ति शुद्धीकरणका अधिकारीसमेत जोडिने देखिएको छ। गृहमन्त्रीलाई पदमा राखिराख्न उचित देखिएन, गृहमन्त्रीलाई पदमै राख्ने तर अरूलाई छानबिन दायरामा ल्याउँदा न्यायसंगत र तर्कसंगत नहुने हुँदा गृहमन्त्रीलाई राजीनामा दिन भनिएको थियो,’ रास्वपाका ती पदाधिकारीले भने।
गृहमन्त्रीमा सुधनलाई निरन्तरता दिन नहुने निष्कर्षमा सभापति र प्रधानमन्त्री आज बिहान पुगेका थिए।
‘त्यसपछि उहाँहरूले गृहमन्त्रीजीलाई राजीनामा दिनुस् भन्नुभएको थियो, गृहमन्त्रीजीले केही समय लिन्छु भन्नुभएकोमा केही घन्टापछि राजीनामा दिनुभयो,’ ती पदाधिकारीले भने।
गुरूङले सभापति लामिछानेसँग हिजो भेटवार्ता र आज बिहान टेलिफोनमा कुराकानी गरेका थिए। तत्काल नयाँ गृहमन्त्री बनाउने सम्भावना नभएकोले प्रधानमन्त्रीले नै गृह मन्त्रालय हेर्ने तयारी गरेका छन्।
गृहमन्त्रीबाट राजीनामा दिँदा सुधन गुरूङले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थ बाझिने हुँदा त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,’ गुरूङले भनेका छन्।
गोरखा १ बाट चुनाव जितेका उनी २७ दिनमात्रै गृहमन्त्री भए।