नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले आज छलफल गरेर सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको छ।
शेखरको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान छलफल भएको थियो। शेखर भने विराटनगर रहेका कारण सहभागी थिएनन्।
नेता शेखरसँग समन्वय गरी निवर्तमान उपसभापति धनराज गुरूङले छलफल राखेका थिए। उक्त छलफलमा पूर्वमहामन्त्री शशांक कोइरालासहित उनी पक्षका नेता तथा सांसदहरू पनि उपस्थित थिए।
निवर्तमान उपसभापति धनराज गुरूङले शेखर र शशांक कोइराला पक्षबीच आज बिहान छलफल भएको र अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा लाग्ने निष्कर्ष निकालिएको सेतोपाटीलाई जानकारी दिए।
‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्नेहरूले न्यायलयको फैसला नमान्ने कुरा हुँदैन, हामी लोकतन्त्रवादीहरू स्वतन्त्र न्यायलयको फैसला स्वीकार गरिहाल्छौं, गर्दै आएको पनि हो,’ उनले भने, ‘यो पार्टीलाई अझ सुधार गरेर लैजाने जिम्मेवारीबोध हामी सबैलाई भएको छ। हामी पार्टीको बृहत्तर हित र एकताका पक्षमा लाग्छौं।’
आजको छलफलमा निवर्तमान उपसभापति गुरूङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलियालगायत सहभागी थिए।
छलफलले गगन थापा नेतृत्वलाई स्वीकार गरेर अघि बढ्ने पनि निष्कर्ष निकालेको छ। गत पुसमा विशेष महाधिवेशनबाट थापा सभापति भएका थिए। विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र शेखर तथा शशांक कोइराला पक्ष सहभागी भएको थिएन। सर्वोच्चले विशेष महाधिवेशनलाई मान्यता दिएको छ।
‘अदालतको फैसला स्वीकार गरिसकेपछि गगन थापा नेतृत्व अस्वीकार भन्ने कुरा रहेन नि!,’ गुरूङले भने, ‘हामी सबै पार्टीको बृहत्तर हितमा उभिने हो।’
उनले निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा आफूहरू सहभागी नहुने पनि बताए। हिजो खड्का निवासमा भएको छलफलमा पनि कोइराला पक्ष सहभागी भएको थिएन।
निवर्तमान सहमहामन्त्री जीवन परियारले विशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहि आएको भएता पनि त्यसबेला आफूहरूले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरहेको स्मरण गरे।
‘अब बिशेष महाधिवेशनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ। यस परिस्थितिमा अदालतको फैसला स्वीकार गर्दै, पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो। पार्टीको स्थापना कालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको व्यहोरा जगजाहेर नै छ,’ उनले भने।
साथै उनले वर्तमान अवस्थामा कांग्रेसभित्र बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु सबैको साझा जिम्मेवारी रहेको बताएका छन्।
‘तथापी पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढीनै जिम्मेवारी रहन्छ। यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आ-आफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहन समेत पार्टीका सम्पूर्ण साथीहरुलाई आग्रह गर्दछु,’ उनले भनेका छन्।