नेकपा (एमाले)को राजधानी प्रदेश कमिटीले अविलम्ब पार्टी पुनर्गठन गर्न माग गरेको छ।
राजधानी प्रदेश कमिटीले निर्वाचन समीक्षा, विकसित राजनितिक परिवेश र पार्टीले लिनुपर्ने आगामी कदमबारे पार्टी महासचिव शंकर पोखरेललाई शुक्रबार प्रतिवेदन बुझाउँदै यथाशीघ्र पार्टी पुनर्गठन गर्न सुझाएको हो।
'नवयुवाहरुको परिवर्तनप्रतिको आकांक्षा, पार्टीप्रति उठेका कतिपय विषयहरुमा वस्तुगत र ठोस तथा एकीकृत धारणा सार्वजनिक गर्न पार्टीले जतिसक्दो चाडै पार्टीको स्थापित विधि प्रक्रियाबाट व्यापक छलफल, विश्लेषण र सुधार तथा आवश्यकता अनुसार पुनर्गठनका अभियान सञ्चालन गर्नुपर्ने सुझाव पेश गरेको छ,' प्रचार तथा प्रकाशन विभाग प्रमुख शशीजंग थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
निर्वाचन सन्दर्भमा भदौ भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन हुन नसक्नु र भदौ २४ को विध्वंसका पछाडि लुकेको षडयन्त्रलाई जनतामाझ स्थापित गर्न नसक्दा पार्टीले हार ब्यहोर्नुपरेको निष्कर्ष प्रतिवेदनमा रहेको थापाले जानकारी दिएका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा व्याप्त मिथ्या समाचार र सुचनाको प्रभाव, भदौ २४ को विध्वंसबाट फैलिएको अराजकताको भय, नेपाली राजनीतिमा व्याप्त अवसरवाद, अराजकतावाद र प्रियतावादले फागुन २१ को निर्वाचनलाई प्रभावित पारेको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ।
पार्टीलाई आगामी दिनमा युवाहरुमाझ स्थापित गर्न पार्टीभित्र शुद्धीकरण तथा नवयुवालक्षित राजनीतिक, वैचारिक र एजेन्डामुखी अभियानहरु सञ्चालन गर्न सुझाव प्रतिवेदनले दिएको छ।
पार्टी केन्द्रको चैतको अन्तिम सातासम्म प्रदेशहरुले जिल्लाबाट प्राप्त प्रतिवेदन र प्रदेशस्तरको समीक्षा गरी पार्टी केन्द्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।
निर्देशनअनुसार २४ चैतमा भएको प्रदेश कमिटीको दोस्रो बैठकमा भएको समीक्षा तथा मातहत ७ वटा जिल्ला तहमा भएका समीक्षा भेला र बैठकहरुबाट प्राप्त सुझावहरुलाई समावेश गरी प्रतिवेदन तयार गरी पेश गरिएको थापाले जानकारी दिएका छन्।