पित्तथैलीमा पत्थरीको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको मन भने आराम छैन।
त्रिवि शिक्षण अस्पतालको आइसियुबाट वार्डमा सारिएका उनी आफू पक्राउ पर्दा पार्टीले देशव्यापी आन्दोलन उराल्न नसकेको र संसदीय दल नेताले आफ्नै सल्लाहमा संसदमा बोलेको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विरोध भएको भन्दै असन्तुष्ट रहेको उनीनिकट नेताहरू बताउँछन्।
केही दिनयता अस्पतालमा भेट्न आउने नेताहरूसँग उनले यिनै दुई विषयमा असन्तोष व्यक्त गर्ने गरेका छन्।
'संस्थापन इतर समूहले चर्को आवाजमा नेतृत्व पुनर्गठनको माग गरिरहेको छ, यसप्रति अध्यक्ष क्रुद्ध हुनुहुन्छ। पार्टी पुनर्गठनको माग आफ्नै समूहभित्र पनि उठिरहेको छ, यसले पनि उहाँलाई रूष्ट बनाएको छ,' हालै ओलीलाई अस्पतालमा भेटेका एक नेताले सेतोपाटीसँग भने।
उनका अनुसार अध्यक्ष ओलीको सबभन्दा ठूलो असन्तुष्टि महासचिव शंकर पोखरेल सहितका नेतासँग छ। उनीहरूले आफू पक्राउ पर्दा आन्दोलनको 'आँधीबेहरी' ल्याउन सकेनन् भन्ने ओलीको भनाइ छ।
हुन त ओलीको पक्राउविरूद्ध एमालेले सडक आन्दोलन नगरेको होइन। तर सहभागीहरूको संख्या निकै पातलो भएपछि चैत १७ गते बसेको पार्टी सचिवालय बैठकले आन्दोलनको बाटो मोड्दै तल्लो तहसम्म लैजाने र वैशाख १२ गते संघीय राजधानीमा ठूलो प्रदर्शन गर्ने निर्णय गर्यो। अध्यक्ष ओली यसबाट रूष्ट हुन पुगे।
एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार त्यति बेला हिरासतमा भेट्न जाने नेता-कार्यकर्तासँग अध्यक्ष ओली चर्को असन्तुष्टि व्यक्त गर्थे।
'पार्टी अध्यक्ष पक्राउ परेको छ। तर सडकमा आन्दोलन उठिरहेको छैन। आन्दोलनबिना मोमेन्टम कसरी सिर्जना हुन्छ? कसरी दबाब पुग्छ? सबै ठप्प हुने गरी आन्दोलनको तयारी गर्नुस्,' उनले आउने-जाने नेताहरूलाई यसै भन्ने गरेको ती पदाधिकारीले बताए।
तर ओलीको असन्तोषका बाबजुद चुनावमा पराजित भएर तंग्रिन नसकेको पार्टी संरचना र नेता–कार्यकर्ताको मनोदशाले सडक तताउन सकेन। त्यसमाथि सुरक्षाकर्मी आक्रामक भइदिँदा दिनहुँ क्षति व्यहोर्ने परिस्थिति आइरहेको थियो।
त्यसैबीच चैत २३ गते अध्यक्ष ओलीलाई गैरकानुनी ढंगले हिरासतमा लिइएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आदेश आउँदै थियो। ओलीले त्यसको अघिल्लो दिन चैत २२ गते शिक्षण अस्पतालको शैय्याबाटै राजधानी प्रदेश कमिटीलाई निर्देशन दिए– भोलि माइतीघर ठप्प हुने गरी ठूलो सभाको तयारी गर्नू!
राजधानी प्रदेश इन्चार्जसमेत रहेका सचिव राजन भट्टराईलाई ओलीले उक्त निर्देशन दिएका थिए।
तर यसका बाबजुद आन्दोलन उठ्न सकेन।
'माइतीघरमा त्यस दिन जम्मा २१ जना भेला भएका रहेछन्,' एक नेताले सेतोपाटीसँग भने, 'कति जति हुनुहुन्छ, म पनि आउँदैछु भनेर एक नेतालाई फोन गरेको थिएँ। उहाँले २१ जना थियौं, संख्या न्यून भएपछि म अदालत आएँ, अहिले त त्यहाँ २० जनाजति हुनुहोला भनेपछि म बीच बाटोबाटै फर्किएँ।'
ती नेताका अनुसार संख्या कम देखेपछि त्यस दिन प्रहरीले नै बाटोमा ननिस्कन भनेको थियो।
'आज बल प्रयोग गर्न आदेश छ, तपाईंहरूले आवागमन अवरोधको प्रयास नगरिदिनुस्,' प्रहरीले यसो भनेपछि माइतीघरमा जम्मा भएका एमाले नेता–कार्यकर्ता तितरबितर भएका थिए।
त्यति बेला आन्दोलन उठाउन नसकेकामा उपाध्यक्षहरू र सबभन्दा बढी पार्टी महासचिवसँग रूष्ट रहेका ओली संसदीय दल नेता रामबहादुर थापा 'बादल' को अभिव्यक्ति सच्याएपछि झन् बढी बेखुस छन्।
प्रतिनिधिसभाको पहिलो बैठक सुरू हुने दिन बिहान बादल र गुरू बराल ओलीलाई भेट्न अस्पताल पुगेका थिए। त्यस क्रममा बादलले दिउँसो सदनमा आफूले बोल्ने कुराको सार बताएका थिए। र, ओलीको परामर्शमै बादलले उक्त अभिव्यक्ति दिएका थिए।
तर महासचिवसमेत लागेर सचिवालय बैठकले अभिव्यक्ति सच्याएपछि बादल स्वयंले पोखरा पुगेर 'पार्टीकै लाइनअनुसार बोलेको हुँ' भन्दै प्रतिवाद गरे।
यति मात्र होइन, उनले पार्टीभित्रको अन्तरसंघर्षको पनि संकेत गरे।
त्यस दिन बादल उपाध्यक्ष विष्णु पौडेलप्रति बढी आक्रामक सुनिएका थिए। अध्यक्ष ओलीको आड पाएरै उनी पौडेलप्रति कठोर सुनिएको एमाले नेताहरू बताउँछन्।
यसको पछाडि पनि कारण छ। प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षमा ९ स्थान जितेको थियो। समानुपातिकमा १६ जोडेर अहिले एमालेका २५ सांसद छन्। एमाले नेताहरूले यस प्रकारको 'लज्जाजनक' परिणामको अपेक्षा गरेका थिएनन्।
एक नेताले बताए अनुसार सचिवालय तहका नेताले प्रत्यक्षमा ३० र समानुपातिकमा २० नघट्ने अनुमान गरेका थिए। तर परिणाम आधा मात्रै आयो।
मतदानपूर्व नै सम्भावित हारको परिदृश्य देखिसकेका उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले 'अब ओलीको नेतृत्वमा पार्टी आन्दोलन अघि बढ्न नसक्ने' निष्कर्ष निकालेका थिए। रूपन्देही–२ मा पराजय व्यहोर्नेबित्तिकै पौडेलले 'पार्टी पुनर्गठनको अगुवाइ लिने' भनेर नेतृत्व परिवर्तनको संकेत गरे। त्यति बेलासम्म पोखरेलले आफ्नो अन्तरदशा प्रकट गरिसकेका थिएनन्।
एक नेताले दाबी गरे अनुसार निर्वाचनको पराजयलगत्तै महासचिव पोखरेल र उपाध्यक्ष पौडेल सँगै गएर अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। तर ओलीले केही बोलेनन्।
चुनाव सकिएको केही दिनमै उनी पितृशोकमा परे। आशौचबाट बाहिर निक्लिएको दुई दिनमै जेनजी आन्दोलनमा हेलचेक्र्याइँपूर्वक मानिस मारेको अभियोगमा प्रहरी हिरासतमा पुगे। र, हिरासतमुक्त भएपछि पित्तथैलीमा पत्थरीका कारण शल्यक्रिया गरेर अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका छन्।
यसबीच अध्यक्ष अोली पार्टीको सार्वजनिक जीवनमा फर्कनुअघि नै एमालेभित्रको शक्ति संघर्ष नयाँ आयाममा प्रवेश गरिसकेको छ। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीको सम्मानजनक बहिर्गमनको आधार बनाउन लागेका छन्।
उपाध्यक्ष पौडेलले आफू निकट निवर्तमान स्थायी कमिटी, पोलिटब्युरो र मौजुदा केन्द्रीय सदस्यहरूलाई 'यसपटक पछि नहट्ने र ओलीसँग सम्झौता नगर्ने' प्रस्ट सन्देश दिइसकेका छन्।
महासचिव पोखरेलले पनि पार्टी, आन्दोलनलाई थप दख्खल (विभाजन नहुने) नपुग्ने गरी पार्टी आन्दोलन पुनर्जागृत र पुनर्गठन गर्नुपर्ने बताउने गरेका छन्।
'केही न केही नगरी तल जान सक्ने अवस्था छैन। पार्टी विभाजन नहुने गरी समाधानको उपाय निकाल्नुपर्ने छ,' पोखरेलले भन्ने गरेका छन्।
एक नेताका अनुसार अहिले सबभन्दा छटपटी महासचिव पोखरेललाई नै छ। विगतमा ओलीलाई काँध थापेकैले आफू सार्वजनिक प्रहारको निशानामा परेको, क्षति भोग्नुपरेको र राजनीतिक करिअर नै संकटपूर्ण अवस्थामा पुगेको अनुभूत उनले गरेका छन्।
अध्यक्ष ओलीलाई हटाएर पार्टी आन्दोलन पुनर्गठन त गर्ने तर त्यो काम पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे र उपमहासचिव योगेश भट्टराईले भनेजसरी नहुने उनले बताउने गरेका छन्।
'योगेश भट्टराई र सुरेन्द्र पाण्डेले जे बोलिरहनुभएको छ, यो बाटोबाट अहिले सम्भव नै छैन। उहाँहरूले झन् माहौल बिगारिराख्नुभएको छ,' महासचिव पोखरेलको भनाइ छ।
योगेश र पाण्डेका गतिविधिले विभाजनको डिल-डिल पुगेको ओली समूह पुनः एकट्ठा भएर प्रतिवाद गर्ने ठाउँमा पुग्न सक्ने पनि केही नेताहरूको बुझाइ देखिन्छ।
अहिले ओली समूहभित्रै ओलीको विकल्प खोज्नुपर्ने मत विस्तारै उठ्न थालेको छ। प्रायः पार्टी केन्द्रीय कार्यालयमै भेटिने पोखरेलले आफूलाई भेट्न आउनेहरूलाई 'साथीहरूले फलानो फलानो नेताबाट अब चल्दैन, यसरी हुँदैन भनेको सुनिरहेको छु, तर गर्नुपर्ने के हो? विकल्प के हो? कोही ल्याउँदैनन्' भन्ने गरेका छन्।
यसबीच एमालेले केही प्रश्नावली तयार पारेर तल पठाएको छ। त्यही प्रश्नावलीमा टेकेर बैठक राख्दै चुनावी हारको कारण खोज्न र बैठकको समीक्षाका आधारमा प्रतिवेदन माथिल्लो कमिटीमा पठाउन भनेको छ। त्यो प्रतिवेदन आएपछि सम्भवतः वैशाख अन्तिम साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी संस्थापन पक्षको छ।
उपाध्यक्ष विष्णु पौडेलले भने आफ्नो तयारी अलि व्यवस्थित गर्न लागेका छन्। उनले पछिल्लो राजनीतिक अवस्था, पार्टी आन्दोलन र आगामी कार्यदिशा समेटेर छुट्टै डकुमेन्टसम्मको तयारी गरेका छन्। एक सातादेखि उनले उक्त प्रतिवेदनमा गृहकार्य गरिरहेको उनीनिकट नेताको दाबी छ।
अध्यक्ष ओलीको पनि आफ्नै तयारी छ। उनी स्वास्थ्य लाभ गरेर फर्किएको केही समयमा सम्भवतः सचिवालय बैठक बस्ने र त्यही बैठकमा आफ्ना असन्तुष्टि राख्ने उनी निकट नेताहरू बताउँछन्।
उक्त बैठकमा सचिवालय तहका नेताहरूले पनि आफ्नो 'पोजिसन' प्रकट गर्ने नै छन्। मार्ग प्रशस्तको आवाज उठ्ने निश्चितै छ।
अध्यक्ष ओली सचिवालयमा बलियो स्थानमा छन्। कथम् त्यहाँ कमजोर देखिए केन्द्रीय कमिटी फेस गर्ने दिशामा जानेछन्। केन्द्रीय कमिटीमा उनी सुविधाजनक अवस्थामा छन्।
त्यसअघि उनले विगतमा जस्तै जिल्ला अध्यक्षहरूको नाडी छाम्ने प्रयत्न गर्न सक्छन्।
जेनजी आन्दोलनमा सेनाको ब्यारेकबाट फर्किएपछि ओली अहिलेभन्दा संकटपूर्ण अवस्थामा देखेको नेताहरू बताउँछन्। त्यति बेला पार्टी कमिटीको बैठकमा राजीनामाको चर्को आवाज फेस गर्नुपर्ने ठानेका ओलीले जिल्ला अध्यक्षहरूसँग भर्चुअल संवाद गरेका थिए। पूर्वका केही जिल्ला अध्यक्षहरूले महेश बस्नेत लगायत नेताहरूको अभिव्यक्तिले तल अप्ठ्यारो पारेको टिप्पणी गरेका थिए।
काठमाडौंका जिल्ला अध्यक्ष दीपक निरौलाले नेतृत्वसहित पार्टी पुनर्गठनको कुरा झिकेका थिए। विद्या भण्डारीलाई सदस्यता दिनुपर्ने बताएका थिए। बागलुङ अध्यक्ष हिरा केसीले अध्यक्ष अोलीले आफ्ना वरिपरि रहेका मानिसहरू हटाउनुपर्ने तर्क गर्दै नेतृत्वबारे खासै प्रश्न उठाएका थिएनन्।
बाँकी सबै जिल्ला अध्यक्षले ओलीकै नेतृत्वको निरन्तरताका कुरा गरेपछि दंग परेका ओलीलाई पुरानै बल र तागतमा पार्टी नेतृत्वमा तेस्रो पटक निर्वाचित हुन ११औं महाधिवेशन बाधक नै भएन। प्रतिस्पर्धी समूह सखाप पार्दै केन्द्रीय कमिटीमा दुईतिहाइ सदस्यसहित अध्यक्ष जिते।
'आफ्नै हातबाट सबै कुरा सकिँदा पनि पार्टी नेतृत्व जोगाउन सफल भएका ओलीले यत्तिकै नेतृत्व छाड्छन् भन्ने हामीलाई विश्वास छैन,' एक पदाधिकारी तहका नेता भन्छन्, 'त्रिवि शिक्षण अस्पतालबाट उनी बलियै भएर फर्कन्छन् र पुरानै शैलीले पार्टी चलाउन थालिहाल्छन्। एमालेमा सुधारको कल्पना नगरे हुन्छ।'
यसबीच एमालेमा वामपन्थी एकताको हावा चल्न थालेको छ। एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूबीच अनौपचारिक भेट हुँदा त्यस्तो प्रसंग उठ्ने गरे पनि त्यसले बाटो र आकार दुवै नलिएको केन्द्रीय सदस्य निरज आचार्यले बताए।
केही दिनअघि नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लाई एमाले नेता उपमहासचिव लेखराज भट्टले भेटेपछि वामपन्थी एकताको हावाको चर्चा अलि बढी चलेको हो। नेता सुरेन्द्र पाण्डेको अभिव्यक्तिले यो चर्चालाई अझ प्रासंगिक बनायो।
'हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि वाम एकताको दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि?' उनले प्रश्न गर्दै भने।
अर्का नेता प्रदीप ज्ञवालीले पनि शुक्रबार मिडियातिर 'वामपन्थी एकता' को चर्चा भएको भन्दै टिप्पणी गरे। उनले संस्थागत निर्णय भएको थाहा नभएको तर मिडियातिर 'वामपन्थी एकता' को चर्चा सुरू भएको बताएका हुन्।
'यतिबेला वामपन्थीहरू सहित सबै पार्टीहरू समीक्षाको प्रक्रियामा छन्। धक्का एमालेले पनि खाएको छ, दर्जन बढी समूह 'एकीकृत' गरेर बनेको नेकपाले पनि। विद्रोह गरेर बनेका संयुक्त या प्रलोपाहरूले पनि। समस्या एउटै छैन र समाधानको रेसिपी पनि एउटै हुन सक्दैन। यस्तो अवस्थामा पहिलो कदम भनेकै संकटको गाम्भीर्यबोध, निर्मम आत्मसमीक्षा र व्यापक सुधार/पुनर्गठनको विधिवत् प्रक्रिया अगाडि बढाउनु हो। पहिले आफू तंग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुन सक्छ,' उनले टिप्पणी गरेका छन्।
महासचिव शंकर पोखरेलले यस्तो चर्चालाई बिहीबार खण्डन गर्ने प्रयत्न गरे। पछिल्लो समय सामाजिक सञ्जालमा मनोगत रूपमा भ्रमपूर्ण एजेन्डा सेटिङ गर्ने र त्यसैलाई आधार बनाएर बहस चलाउने प्रवृत्ति तीव्र रूपमा बढेको उनले टिप्पणी गरे।
'आजभोलि सामाजिक सञ्जालमा मनोगत रूपमा भ्रमपूर्ण एजेन्डा सेटिङ गर्ने र त्यसैलाई आधार बनाएर बहस चलाउने प्रवृत्ति तीव्र रूपमा बढ्दो छ। जुन संस्था वा व्यक्तिबारे बहस गरिन्छ, उनीहरूको आधिकारिक धारणा बुझ्ने आवश्यकता नै नदेख्ने र कतिपय जिम्मेवार व्यक्तिहरू समेत अपुष्ट र भ्रमपूर्ण विषयका आधारमा प्रतिक्रिया दिन हतारिने गलत चलन बढिरहेको छ,' उनले टिप्प्णी गर्दै भनेका थिए।
भाइरल हुने नाममा गम्भीर विषयमा गरिने सस्तो टिकाटिप्पणीले समाजमा भ्रम, अविश्वास र अनावश्यक कटुता मात्र बढाउने उनले बताएका थिए।
'तसर्थ कुनै गम्भीर विषय सञ्जालमा देखिए तथ्य जाँचौं, आधिकारिक स्रोत सुनौं, अनि जिम्मेवार बहसको संस्कार बसालौं,' उनको आग्रह छ।
यद्यपि यो बहस सेलाएको छैन। स्वास्थ्य लाभ गरिरहेका ओली भेट्न बिहीबार नै प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुगेका थिए। त्यहाँ स्वास्थ्य अवस्था सँगसँगै राजनीतिक विषयमा पनि सामान्य कुराकानी भएको अध्यक्ष ओलीको सचिवालय जनाएको छ।
नेताले सामाजिक सञ्जाल वा सार्वजनिक टिप्पणीमार्फत् पार्टीभित्र चलेका बहसलाई ढाकछोप या विषयान्तर गर्न खोजे पनि एमालेभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको मान्न कठिन छैन।
यसको पटाक्षेप कसरी हुन्छ, पार्टी कमिटीका आगामी बैठकले त्यसको दृश्य देखाइहाल्छन्।
***