नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी कार्यालयभन्दा बाहिर हुने अनधिकृत गतिविधिको पनि सीमा हुने र त्यो सीमाभन्दा बाहिर गएर कसैले अनधिकृत गतिविधि गरे सहन नसक्ने बताएका छन्।
मंगलबार नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति थापाले पार्टीमा समानान्तर गतिविधि चलाइरहेका पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई संकेत गर्दै उक्त कुरा बताएका हुन्।
उनले काठमाडौंको ३० नम्बर वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमको सुरूआत गरेका थिए। त्यस क्रममा सभापति थापाले आफ्नै क्रियाशील सदस्यता पनि अद्यावधिक गरेका थिए।
'पार्टीका तमाम नेताहरूलाई मेरो आग्रह छ। भर्खरै नयाँ वर्षको सुरूआत हुँदैछ। सबैलाई लिएर लैजाने मेरो कुरा हो। अब धेरै खिचपिच नगर्न सबैलाई अनुरोध गर्छु। मैले दौडाएर पार्टीलाई अगाडि लैजानु पर्नेछ। अधिवेशन सम्पन्न गराउनु पर्नेछ। नयाँ निर्वाचनका लागि देशलाई तयार पार्नु पर्नेछ। प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्नसक्ने पार्टी बनाउनु पर्नेछ,' उनले भने, 'यसमा सबैको सहयोग चाहिएको छ। कृपया सक्नेले मलाई सहयोग गर्नुहोला। नसक्नेले मलाई डिस्टर्ब नगरिदिनुहोला। पार्टीको कार्यालयभन्दा बाहिर हुने अनधिकृत गतिविधिहरूको सीमा हुन्छ, सीमाभन्दा बाहिर गए सहनसक्ने कुरा हुन्न।'
उनले आफू नेतृत्वमा रहेकाले पार्टीलाई मिलाएर लैजान सबै पक्षसँग विनम्र र लचिलो हुने बताएका छन्। तर आफ्नो विनम्रता र लचकतालाई कमजोरी नठान्न पनि उनले अनुरोध गरेका छन्।
'म पार्टीको जिम्मेवारीमा छु, जिम्मेवारीमा भएको व्यक्ति बढी विनम्र हुनुपर्छ, बढी लचिलो हुनुपर्छ। उसैले संवाद गर्नुपर्छ। यो कुरा मैले पार्टीका नेताहरूबाट सिकेको छु। त्यसैले म सकेसम्म साथीहरूलाई भेट्छु, सिकेका कुरा बुझाउने कोसिस गर्छु। सबैलाई समेटेर जान्छु। तर समेटेर लैजाँदै गर्दा मैले राख्ने लचकता र विनम्रतालाई कृपा गरेर मेरो कमजोरी नठानिदिनुहोला। म पनि पार्टीको विधानले बाँधिएको छु,' उनले भने।
नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका रचनात्मक ढंगले निर्वाह गर्ने पनि उनले उल्लेख गरे। सरकारबाट विधिसम्मत ढंगमा हुने काममा कांग्रेसको साथ र सहयोग रहने उनले बताए। सरकारले गर्ने सुशासनका काममा पनि कांग्रेसको साथ र सहयोग रहने उनको भनाइ छ। यसमा प्रदेश र स्थानीय तह सरकारलाई पनि मिलाएर लैजान भूमिका खेल्नेमा उनले जोड दिए।
-1776157765.jpg)