अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका छन्।
चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको हवाला दिंदै केही मिडियाले समाचार लेखेका छन्। चीनले केही काँधबाट विमान खसाल्न मिल्ने रकेट सहित ‘एयर डिफेन्स’मा प्रयोग हुने हतियार केही हप्तामै इरान पुग्ने गरी पठाएको तीनले जनाएका छन्।
यसबारे अमेरिकी समाचार संस्था सिएनएनले ट्रम्पलाई सोधेको थियो। 'यदि चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि ठूलो समस्या हुनेछ,' ट्रम्पले जबाफमा भने।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए।
केही दिन अघि अमेरिका र इरानबीच दुई हप्ते युद्धविराम भएको थियो। युद्धको स्थायी अन्त्य गर्न अमेरिका र इरानबीच पाकिस्तानमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ।
शनिबार दिउँसोदेखि आइतबार बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।
अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका भान्सले इरानले अमेरिकी प्रस्ताव अस्वीकार गरेको पनि जनाएका छन्।
'उनीहरू हाम्रो सर्त मान्न तयार देखिएनन्,' उपराष्ट्रपति भान्सले भने। वार्ताका सर्तहरू तत्काल सार्वजनिक नगरिने पनि भान्सले बताएका छन्।
'तर तेहरानले परमाणु हतियार र त्यसका लागि आवश्यक हतियार विकास गर्दैन भन्ने हामीलाई इरानबाट स्पष्ट र ठोस प्रतिबद्धता चाहिन्छ,' उनले भने।
अर्को तर्फ इरानले पनि अमेरिकाले ज्यादै कडा र अव्यावहारिक माग राखेको दाबी गरेको छ।
दुई देशबीच युद्ध फेरि सुरु हुन सक्ने खतरा बढेको छ। युद्ध फेरि चर्किएमा इरानलाई रक्षात्मक हतियार चाहिके भएकाले चीनले हतियार पठाउन लागेको हुनसक्छ। यस्तोमा ट्रम्पले इरानलाई हतियार नदिने चीनलाई चेतावनी दिएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)