अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच वार्ता जारी रहेको बेला लेबननमा गरिने आक्रमणमा इसराइलले संयमता अपनाउने प्रस्ताव गरेको बताएका छन्।
इसराइलले लेबननमा रहेका इरान सञ्चालित हिजबुल्लाह समूहमाथि बुधबार भीषण आक्रमण गरेपछि अमेरिका र इरानबीच दुई साताका लागि भएको युद्धविराम नै खतरामा परेको छ।
त्यसकारण इरानले अमेरिकासँगको वार्ताबाट पछि हट्ने धम्की दिएको छ।
युद्धविरामका लागि इरानको प्रमुख मागहरूमध्ये हिजबुल्लाह विरुद्धका इसराइली आक्रमणहरू रोक्नु पनि थियो।
हंगेरी भ्रमणमा रहेका भान्सले भने युद्धविराममा हिजबुल्लाहको विषयलाई लिएर अमेरिका र इरानबीच साँच्चै गलत बुझाइ रहेको बताए।
'मलाई लाग्छ इरानीहरूले युद्धविराममा लेबनन पनि समावेश छ भन्ने ठाने, तर वास्तवमा त्यसो थिएन। हामीले कहिल्यै त्यस्तो वाचा गरेनौँ। हामीले कहिल्यै पनि त्यस्तो हुने संकेत पनि दिएनौँ। हामीले के भनेका थियौँ भने युद्धविराम इरान र अमेरिकाका सहयोगीहरू—इसराइल र खाडी अरब राष्ट्रहरूमा केन्द्रित हुनेछ,' इरानसँगको वार्तामा अमेरिकी टोलीको नेतृत्व गर्ने भान्सले भने।
तर पनि वार्ता सफल होस् भनेर इसराइलले लेबननमा आफूलाई केही हदसम्म नियन्त्रण गर्ने प्रस्ताव गरेको भान्सले खूलाएका छन्।
'यो युद्धविरामको हिस्सा भएकाले होइन, बरु इसराइलीहरूले हामीलाई सफलताको दिशामा लैजान प्रयास गरिरहेका हुन् जस्तो मलाई लाग्छ,' उनले थपे।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)