सरकारले मौजुदा मन्त्रिपरिषको आकार १७ सदस्यीय बनाउने भएको छ।
मन्त्रिपरिषद बैठकले शुक्रबार स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको नवौं बुँदामा संघीय मन्त्रिपरिषदको आकार घटाउने उल्लेख छ।
यसअन्तर्गत मौजुदा नेपाल सरकार (कार्यविभाजन) नियमावली संशोधन गरी संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने भनिएको छ।
मन्त्रालय संख्या पुनरवलोकनका लागि हाल कायम रहेका दरबन्दीहरूसमेत व्यवस्थापन गर्नुपर्ने भए सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्थापन गर्ने निर्णय सरकारले गरेको छ।
यस बमोजिम सेवा निरन्तरताका लागि संक्रमण मार्गचित्र तयार गर्न, जनशक्ति, बजेट तथा कार्यक्रम लगायतका प्रबन्ध मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा 'पुनर्संरचना व्यवस्थापन सचिवालय' गठन गर्ने कार्यसूचीमा उल्लेख छ।
यी काम ३० दिनभित्र गरिसक्ने भनिएको छ।
प्रधानमन्त्री बालेन शाहले शुक्रबार शपथ लिएका थिए। उनको मन्त्रिपरिषदको आकार हाल १५ सदस्यीय छ। केही मन्त्रालय गाभिएका छन् भने रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखेका छन्।