मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि चलिरहेको कूटनीतिक पहलबीच इरानले युद्धविराम सम्झौतामा लेबननलाई अनिवार्य रूपमा समेट्नुपर्ने अडान लिएको छ।
अमेरिकाले इसराइलसँग मिलेर इरानमा आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेपछि लेबननबाट हिजबुल्लाहले इसराइलमा आक्रमण गरेको थियो।
त्यसको जबाफमा लेबननमा अमेरिकी-इसराइली हमला हुँदा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको छ।
यो युद्धको मारमा लेबनन पनि परेका कारण आगामी दिनमा हुने कुनै पनि शान्ति सम्झौतामा उसको अनिवार्य सहभागिता सुनिश्चित हुनुपर्ने अडान इरानले लिएको अधिकारीहरूलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
युद्धविराम सम्झौतामा हिजबुल्लाहमाथि आक्रमण रोक्ने प्रावधान पनि उल्लेख हुनुपर्ने माग उनीहरूले गरेको रोयटर्सले जनाएको छ।
इरानी सरकारी मिडिया प्रेस टिभीका अनुसार, तेहरानले अमेरिकासँग हुने सम्भावित सम्झौताले इरान मात्र होइन, क्षेत्रका प्रतिरोधी समूहहरू विरुद्धको युद्धसमेत अन्त्य गर्नुपर्ने स्पष्ट पारेको छ।
एक वरिष्ठ इरानी अधिकारीले करिब एक महिनादेखि जारी क्षेत्रीय युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावमाथि तेहरानले अझै अध्ययन गरिरहेको बताएका छन्। यसले इरानले प्रस्ताव अस्वीकार नगरेको संकेत दिएको छ।
क्षेत्रीय स्रोतहरूका अनुसार, इरानले मार्चको मध्यतिरै मध्यस्थकर्तामार्फत हिजबुल्लाह माथि इसराइल ले गरिरहेको आक्रमण रोकिने शर्तसहितको सम्झौता चाहेको जानकारी गराएको थियो।
सन् १९८२ मा इरानको रिभोलुसनरी गार्ड्सको सहयोगमा स्थापना भएको हिजबुल्लाहले मार्च २ देखि इसराइलमाथि आक्रमण सुरु गरेको थियो। जसको जवाफमा इसराइलले लेबननमा हवाई तथा स्थलगत सैन्य अभियान चलाइरहेको छ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले भने इरानका प्रोक्सी गतिविधि अन्त्य गर्नु र हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्नु क्षेत्रीय स्थायित्वका लागि अपरिहार्य रहेको बताएका छन्।
एक क्षेत्रीय स्रोतका अनुसार, हिजबुल्लाहले सम्भावित व्यापक सम्झौतामा आफूलाई समेटिनेबारे इरानको ग्यारेन्टीसमेत पाइसकेको छ।
'इरानले लेबननलाई प्राथमिकतामा राखेको छ र २०२४ को युद्धविरामपछि जस्तै इसराइलले पुनः आक्रमण गर्ने अवस्था स्वीकार गर्ने छैन,' एक अधिकारीले रोयटर्ससँग भनेका छन्।
यसबीच, लेबननमा राजनीतिक तनाव चर्किँदै गएको छ।
लेबनन सरकारले इरानी राजदूतलाई पर्सोना नन ग्राटा (देशभित्र बस्न अयोग्य) घोषणा गरेपछि हिजबुल्लाहसहितका शिया नेताहरूले त्यसको विरोध गरेका छन्।
इसराइलले भने इरानसँग प्रत्यक्ष वार्ता नगर्ने स्पष्ट पारेको छ।
इसराइली सैन्य रणनीतिबारे जानकार एक स्रोतका अनुसार, इरानसँगको युद्ध रोकिए पनि हिजबुल्लाह विरुद्धको आक्रमण जारी रहन सक्ने संकेत दिएको छ।
लेबननी स्रोतहरूका अनुसार, हिजबुल्लाहले युद्धमा सहभागी हुने निर्णय इरानी नेतृत्व युद्धबाट सुरक्षित रहन्छ भन्ने विश्वास र आफूलाई समेत समेट्ने क्षेत्रीय युद्धविराम हुने अपेक्षा गरेको थियो।
मार्च २ यता इसराइली आक्रमणमा लेबननमा एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको र १० लाखभन्दा बढी विस्थापित भएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।
यो पनिः अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रबाट सेना फिर्ता गर्नुपर्ने इरानको माग!