नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले ५० प्रतिशत केन्द्रीय नेताले नै पार्टीलाई भोट नहालेको दाबी गरेपछि त्यसले पार्टीभित्र तरंग ल्याएको छ।
उनले गत बिहीबार केन्द्रीय कमिटीको जिम्मेवारीमा रहेका ५० प्रतिशतभन्दा बढी नेताले नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट दिएको भनी प्रारम्भिक रिपोर्ट आएको दाबी गर्दै त्यस्ता नेता पहिचान गरी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन्।
नेकपामा अहिले २५ सयभन्दा बढीको केन्द्रीय समिति छ। २४९९ जनालाई संयोजक प्रचण्डले नै शपथ गराएका थिए। केन्द्रीय समितिको आकार त्योभन्दा ठूलो हुनसक्ने केन्द्रीय नेताहरू बताउँछन्।
झन्डै १६ कम्युनिस्ट घटक र स-साना समूह एकीकरण गरेर बनेको केन्द्रीय कमिटीमा को-को केन्द्रीय सदस्य छन् भनेर पनि यकिन छैन। तिनीहरूबीच आपसमा चिनजान पनि भइसकेको छैन। भीमकाय केन्द्रीय समितिको बैठक बस्न सक्ने अवस्था पनि छैन। चुनावको अन्तिम परिणाम आएको आधा महिना बित्न लागिसक्दा पनि नेकपाले केन्द्रीय स्तरको समीक्षा बैठक डाकेको छैन।
यस्तोमा संयोजक प्रचण्डले पार्टी सचिवालय वा केन्द्रीय तहको कुनै कमिटी बैठकमार्फत पार्टीलाई भोट नहाल्ने नेताहरूलाई कारबाहीको निर्देशन दिएका होइनन्।
उनले जनवर्गीय संगठनका प्रमुखरूको बैठकमा त्यस्ता केन्द्रीय नेताहरूको विवरण मागेका हुन्।
'को–कोले भोट हालेनन्। केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू, तपाईंका जनवर्गीय संगठनका केन्द्रीय नेताहरू कुन क्षेत्रमा गएनन्, कसले भोट हालेनन्? कसले घन्टी हाले? त्यो रिपोर्ट तपाईंहरूले दिनै पर्यो हामीलाई,' उनले भने।
त्यस्ता नेतालाई कारबाही नगरे पार्टी बनाउन नसकिने निष्कर्ष सुनाउँदै प्रचण्डले कारबाहीको सुरूआत केन्द्रीय नेताबाटै गर्ने उद्घोष पनि गरे।
'तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन,' उनले भने, 'सबभन्दा पहिला केन्द्रीय सदस्यबाटै कारबाही सुरू गरिन्छ।'
यसरी पार्टी र नेतृत्वलाई अविश्वास गरेर प्रतिस्पर्धी पार्टीलाई भोट नहाल्नेहरू पत्ता लगाउन थालेका संयोजक प्रचण्डले पार्टी कमिटीको बैठक भने बोलाएका छैनन्। चुनावमा पराजय व्यहोर्नुको कारण खोज्नेतर्फ पनि लागेका छैनन्। उनले पार्टीको तल्लो तहबाट आउने सुझाव र आलोचनालाई नै पार्टीको सचिवालयमा प्रस्तावको रूपमा लैजाने बताएका थिए।
तर सचिवालय बैठक कहिले बस्छ, त्यसबारे भने उनले केही बोलेका थिएनन्।
जनवर्गीय संगठनका प्रमुखरूको बैठकमा प्रचण्डको यस्तो भनाइलाई लिएर पार्टीभित्रै टिकाटिप्पणी सुरू भएको छ।
'१८ वटा कम्युनिस्ट घटकलाई एकता अभियानमा जोड्दा पनि त्यो मत परिणाममा किन बदलिन सकेन भनेर समीक्षा हुनुपर्ने हो। तर हामीकहाँ त यत्रो आँधीहुरीबीच पनि नेतृत्व जोगाइयो भन्नेजस्तो चिन्तन देखिएको छ। समीक्षाको खाँचो नै महसुस गरिएको छैन,' एक केन्द्रीय नेताले सेतोपाटीसँग भने।
हामीले यसबारे पार्टी नेता बेदुराम भुसालसँग कुरा गर्दा उनले १६५ वटै निर्वाचन क्षेत्रीय कमिटीबाट चुनावी रिपोर्ट माग गरिएको जानकारी दिए। ती कमिटीहरूबाट चुनावी प्रतिवेदन प्राप्त भएपछि सचिवालय बैठक बसेर निर्वाचनको समीक्षा गरिने उनले बताए।
'चुनावको अन्तिम परिणाम आइसकेपछि हामीले केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बसेर निर्वाचन क्षेत्रबाट चुनावको समीक्षा माग गरेका छौं,' उनले भने, 'ती कमिटीहरूबाट रिपोर्ट आउने क्रम जारी छ। आइसकेपछि बैठक बसेर केन्द्रीय स्तरमा चुनावी समीक्षा थाल्छौं।'
मातहतका कमिटीबाट विस्तृत रिपोर्ट नआइसकेकाले कसले भोट हाल्यो, कसले हालेन यकिन गर्न नसकिने उनले बताए।
केन्द्रीय समितिको आकार ठूलो भएको र एकअर्काबीच परिचय नै स्थापित नभएको अवस्थामा चुनावमा सक्रिय भए-नभएको, मत हाल्न गए-नगएको र फरक पार्टीको प्रचारमा लागे-नलागेको यकिन गर्न कठिन हुने धारणा पनि उनले राखे।
'हाम्रो पराजयका अनेक कारण हुनसक्छन्, त्यसको खोजी भई नै हाल्छ। सामान्य हिसाबले भन्दा हामीलाई पनि मतदाताले पुरानै पार्टीका रूपमा व्यवहार गरे। त्यसैको परिणति हो यो। केन्द्रीय नेता नै पार्टीविरूद्ध लागे भन्ने मलाई लाग्दैन। प्रतिबद्ध नेता–कार्यकर्ताको भोट नै अन्यत्र गयो भन्ने मलाई लाग्दैन,' उनले भने।
सबै निर्वाचन क्षेत्रबाट रिपोर्ट आइपुग्नुपर्ने भएकाले केन्द्रीय बैठक बस्न विलम्ब भएको उनको तर्क थियो। यद्यपि केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बसेर समीक्षाको सुरूआत भने भइसकेको उनको दाबी छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको थियो। संयोजक प्रचण्ड, नेता वर्षमान पुन विजयी भएका थिए। सहसंयोजक माधवकुमार नेपालसहित शीर्षस्थ नेताहरू पराजित भएका थिए।