प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस बाक्लिन थालेको छ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ लगायत दोस्रो र तेस्रो तहका नेताहरूले निर्वाचन परिणामप्रति जिम्मेवार ठहर्याउँदै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने आवाज पार्टीभित्र उठाउन थालेका छन्।
उपाध्यक्ष पौडेलले त्यसको संकेत पराजय व्यहोरेलगत्तै गरेका थिए।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उपाध्यक्ष पौडेलले पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाउने र त्यस बहसको नेतृत्वकर्ता आफै हुने संकेत समेत दिए।
'विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रूपान्तरण गर्न र नेकपा एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्छु,' उनले विजयी उम्मेदवार सुलभ खरेललाई दिएको शुभकामना सन्देशमै उक्त कुरा उल्लेख गरेका थिए।
एमालेका एक नेताले दिएको जानकारी अनुसार पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्काउने संकेत उनले रूपन्देहीमै छँदा दिएका थिए।
मतगणनाको पारम्भिक परिणाममा पछि परेपछि र देशभरिबाटै निराशाजन नतिजा आउन थालेपछि उनले रूपन्देहीमा उपलब्ध केन्द्रीय सदस्य, प्रदेश–जिल्ला कमिटीमा रहेकाहरूलाई बोलाएर पार्टी अब यथास्थितिमा चल्न नसक्ने, निर्वाचन परिणामको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने आसय व्यक्त गरेका थिए।
'निर्वाचनमा पराजितउन्मुख भएपछि २२ गते दिउँसो बुटवलमा जिल्लादेखि केन्द्रीय तहका नेता कार्यकर्तालाई राखेर उपाध्यक्ष विष्णु पौडेलले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने र त्यसका लागि तयार रहन भनेर काठमाडौं जानुभएको हो,' एक नेताले सेतोपाटीसँग भने।
काठमाडौं आएलगत्तै उनले छलफल सुरू गरिसकेका छन्।
पौडेलले उठाउन खोजेको बहसप्रति उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ पनि सकारात्मक छन्। गुरूङले आफूनिकट नेतासँग 'अध्यक्ष ओलीले आफैले जानेर राजीनामा दिनुपर्ने हो' भन्न थालेका छन्।
अध्यक्ष ओलीले आफै मार्गप्रशस्त नगर्ने हो भने उनलाई राजीनामा दिन लगाउने तहसम्म अघि बढ्नुपर्नेमा गुरूङ पनि पुगेका छन्।
'अध्यक्ष ओलीलाई राजीनामा दिन लगाउने, अध्यक्ष ओलीले राजीनामा दिएपछि अर्कोलाई कार्यवाहक तोकेर स्थानीय र प्रदेश निर्वाचनसम्म जाने, निर्वाचनपछि विशेष वा अर्ली महाधिवेशन गरेर नेतृत्व अद्यावधिक गर्ने एउटा विकल्प हुनसक्छ, अब ओलीको नेतृत्वमा अघि बढ्न सकिँदैन,' गुरूङले आफू निकटलाई बताउने गरेका छन्।
उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आफ्नो मतमार्फत जनताले पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेको बताएका छन्। यो नै आजको वस्तुगत यथार्थ भएको उनको मूल्यांकन छ।
'हामीले आफूभित्र सर्वांगीण रूपान्तरण मार्फत् जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्छ,' उनले भनेका छन्।
भदौ २३ र २४ पछि पार्टीले लिएका नीति ठीक छैनन् त्यसमा 'करेक्सन' गरौं भनेर आवाज उठाउँदा सफल हुन नसकेको भट्टराईले बताएका छन्। त्यसमा पुनः छलफल र बहस गर्नुपर्ने उनको भनाइ छ।
'भदौ २३ र २४ पछि पार्टीले लिएका नीति ठीक छैनन् त्यसमा करेक्सन गरौं भनेर हामीले नेतृत्व र सिगो पार्टी पंक्तिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत् पटक पटक अनुरोध गर्यौं तर सफल भएनौं। अब पुनः छलफल र बहस खुला गर्नुपर्छ,' उनले भनेका छन्।
हरेक सार्वजनिक संस्था–संगठनमा जिम्मेवारी र जबाफदेहीता अहम् महत्त्वको सवाल भएको स्मरण गराउँदै भट्टराईले एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन, जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबै भागिदार हुनुपर्ने धारणा राखेका छन्।
'त्यसै पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नुपर्छ। यो सबैको जबाफदेहीता फेरि पनि प्रमुख नेताकै रहन्छ। सफलता वा असफलता पछिको जबाफदेहिताको कार्यान्वयन कसरी हुन्छ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नुपर्छ,' उनको भनाइ छ।
ओली समूहभित्रैबाट पुनर्गठनको आवाज उठेपछि इतर समूह भने पर्ख र हेरको रणनीतिमा छ।
गत महाधिवेशनमा महासचिवमा पराजित सुरेन्द्र पाण्डेले अध्यक्ष ओली र पार्टी चुनावमा असफल भए उनले नेतृत्वबाट राजीनामा दिनुपर्ने धारणा निर्वाचनअघि नै राखेका थिए। परिणामपछि उनले पुनर्गठनको आवाज उठाएका छैनन्। मौजुदा कमिटीमा इतर समूहबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई मात्र छन्।
भट्टराईले अहिलेको परिणामले नीति र नेतृत्वको पुनर्गठन माग गरेको बताइसकेका छन्। विष्टले भने मुख खोलिसकेका छैनन्।
यही समूहसँग निकट एक नेताले बताए अनुसार ओली समूहका केही नेताले उठाइरहेको पुनर्गठनको बहसप्रति उनीहरू त्यति सहमत र सन्तुष्ट छैनन्। महाधिवेशनअघि संस्थापन पक्षमै खुलेका केही नेताहरूले 'अब ओलीबाट चल्दैन, उनको विकल्प खोज्नुपर्छ' भनेको तर अन्तिममा उनैलाई नेतृत्वमा समर्थन गरेको विगतको समीक्षा गरेर मात्र पुनर्गठनको बहसमा लाग्नुपर्ने धारणा राख्ने गरेका छन्।
'ओली पक्षका केही नेताहरूले फोन त गरिरहेका छन्। उहाँहरूको मुखबाट पुनर्गठनको कुरा पनि सुनिएको छ। तर जनादेश हेर्ने हो भने नेतृत्व पंक्तिमा रहेका एउटा समूहले नै बिदा लिनुपर्छ र नयाँ ढंगले पार्टी आन्दोलन व्यवस्थित गरिनुपर्छ। एउटा व्यक्ति बदलेर मात्रै मूर्च्छित आन्दोलन ब्युँतनेवाला छैन,' ती नेताले सेतोपाटीसँग भने।
नेकपा एमाले गत मंसिर अन्तिम साता महाधिवेशनमार्फत् नेतृत्व अद्यावधिक गरेर चुनावमा होमिएको थियो। तर प्रत्यक्षमा अत्यन्त कम सिट र समानुपातिकतर्फ कमजोर मतका साथ तेस्रोमा सीमित हुनुपरेपछि नेता–कार्यकर्तामा निराशा छाएको छ।
पार्टी अध्यक्ष ओलीले झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसँग ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजय व्यहोरे। चुनाव लडेका ११ पदाधिकारी र दुई पूर्वपदाधिकारी कसैले पनि चुनाव जित्न सकेनन्।
एमालेले हालसम्म प्रत्यक्षतर्फ जम्मा ८ सिट जितेको छ भने एक सिटमा अग्रता देखिन्छ। समानुपातिकतर्फ हालसम्म करिब १२ लाख मत ल्याएको छ। अहिलेकै अनुपात कायम रहने हो भने समानुपातिकतर्फ १५ लाख हाराहारी मात्र मत पुग्ने देखिन्छ।
एमालेले अघिल्लो निर्वाचनको तुलनामा ४७ प्रतिशतभन्दा बढी लोकप्रिय मत गुमाइसकेको छ। प्रत्यक्षतर्फको परिणाम र समानुपातिक मतको अनुपात हेर्दा एमाले जम्मा २५ सिट आसपास खुम्चने देखिन्छ।
अघिल्लो निर्वाचनमा लोकप्रिय मतमा पहिलो भएको एमालेले निकै कम मतका साथ तेस्रोमा चित्त बुझाउनुपरेपछि नेता–कार्यकर्ता अध्यक्ष ओलीसँग निकै क्षुब्ध छन्। र, उनले नेतृत्वबाट मार्गप्रशस्त गनुपर्ने बताउन थालेका छन्।
रास्वपाका वरिष्ठ नेता शाहसँग प्रतिस्पर्धा गर्नुपरेपछि अध्यक्ष ओली आफ्नै निर्वाचन क्षेत्रबाट बाहिर निस्कन सकेनन्। अध्यक्ष ओलीलाई आमन्त्रण गरे भोट घट्ने भयले एमालेका उम्मेदवारहरूले उनलाई निर्वाचन क्षेत्रमा बोलाउने आँट पनि गरेनन्। अघिल्ला निर्वाचनमा झैं यसपटक निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले ओलीको तस्बिरसहितको कुनै प्रचार सामग्री पनि बनाएका थिएनन्।
जेनजी आन्दोलन क्रममा पहिलो दिन नै प्रहरीको गोली लागेर १९ जना युवा मारिएका थिए। आन्दोलनको पहिलो दिनको बल प्रयोगमा ठूलो मानवीय क्षति भएको, त्यति बेला सरकार प्रमुख भएकाले घटनाप्रति जिम्मेवारीबोध र आत्मालोचना समेत नगरेपछि जेनजी लगायत युवापंक्ति, आन्दोलनका घाइते, सहिद परिवार ओलीसँग आक्रोशित थिए।
अध्यक्ष ओलीकै कारण सिंगो नवयुवा–युवा पुस्ताले पार्टीलाई दुत्कारेको र यसरी घृणा–भर्त्सना गर्ने युवाहरूले आफ्ना अभिभावकलाई पनि एमालेलाई मत नहाल्न भनेका कारण एमाले परिणाममा ह्वात्तै खस्किएको पार्टी पंक्ति र उम्मेदवारहरूको पनि बुझाइ देखिन्छ।
अर्कातिर, भदौ २३ र २४ को घटनाप्रति नैतिक, राजनीतिक जिम्मेवारी लिँदै एमालेले उनलाई नेतृत्वमा निरन्तरता नदेला भन्ने आम युवाहरूको बुझाइ थियो।
अध्यक्ष ओली भने महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएनन् मात्र, आन्दोलनले विस्थापित गरेको ६ महिना नबित्दै उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि आम मतदाताले आक्रोश पोख्नु स्वाभाविकै हो। एमाले पंक्ति पनि खुलेर भोट माग्न सकेनन्। मतदाताले आन्दोलनको जबाफदेहिता खोजेपछि एमाले पंक्ति पूरै रक्षात्मक देखियो। चार–पाँच दशकदेखि पार्टीप्रति प्रतिबद्ध कार्यकर्ता मत फेर्ने मनोदशामा पुगे।
परिमाणतः एमाले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको नतिजा बिर्साउने गरी क्षीण बन्न पुग्यो।