भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीको विरासत पहिलो पटक तोडिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रूकेश रञ्जित ३३ हजार ४३६ मतसहित भक्तपुर–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनले नेमकिपाका प्रेम सुवाललाई ५ हजार २८९ मतले पराजित गरे। निकटतम प्रतिस्पर्धी रहेका सुवालले २८ हजार १४७ मत ल्याए।
रास्वपा र नेमकिपाबाहेक भक्तपुर–१ मा कसैको पनि जमानत जोगिएन। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ल्याए भने नेकपा एमालेका सोम मिस्रले ३ हजार ७२१ मत ल्याए।
भक्तपुर–१ मा नेमकिपाले २०४८ सालदेखि लगातार जित्दै आएको थियो।
भक्तपुरमा यसअघि नेमकिपाको लगातार जितबारे नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले सुनाएको प्रसंग रोचक छ।
चौधरी केही समयअघि भक्तपुरका मेयर सुनील प्रजापतिलाई भेट्न उनकै कार्यकक्ष पुगेका थिए। आतिथ्य सत्कारपछि मेयर प्रजापतिलाई थरूहट आन्दोलनका अगुवा चौधरीले सोधे– भक्तपुरमा लगातार जित कसरी कायम राख्नुभएको छ? चुनौती छैन?
हुन पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा २०४९ सालदेखि जित कायम राखेको थियो। यसबाट अरू जनप्रतिनिधि पनि आश्चर्यचकित थिए।
जबाफमा मेयर प्रजापतिले भक्तपुरको विकासमा नेमकिपाले गरेको अगुवाइबारे बताएका थिए।
शिक्षा, स्वास्थ्य, भूकम्पपछि सम्पदा पुनर्निर्माण, सम्पदा संरक्षण लगायत क्षेत्रमा मानक हासिल गरेको मात्र होइन, फोहोर व्यवस्थापनमा नमूना काम गरिरहेको छ। न्यून शुल्कमा प्राविधिक शिक्षा र प्राविधिक शिक्षामा सबैको पहुँच भक्तपुर नगरपालिकाको विशेष परिचय बनेको थियो।
काठमाडौं उपत्यकाका २० वटा स्थानीय तहको फोहोर अहिले बञ्चरेडाँडा ल्यान्डफिल साइट जान्छ। सिसडोलबाट सुरू भएको समस्या बञ्चरेडाँडा पुग्दा पनि समाधानको बाटो समात्न सकेको छैन। तर भक्तपुर नगरपालिकाको फोहोर भक्तपुर नगरभित्रै व्यवस्थापन हुन्छ। उनीहरूले फोहोर स्रोतमै छुट्याउँछन्। बिक्रीयोग्य फोहोर बेच्छन् र कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउँछन्।
ठूलो स्रोत, साधन र सामर्थ्य भएको काठमाडौं र ललितपुर महानगरपालिकाले समेत फोहोर स्रोतमा छुट्टयाउन नसकेर टाउको दुखाइको विषय बनिरहँदा भक्तपुरले बाटो पहिल्याउनु आफैमा सकारात्मक कुरा हो।
सायद त्यसैले, भक्तपुर नगरपालिकामा नेमकिपाले लगातार जित्नुको कारण थाहा पाउन अरू जनप्रतिनिधिहरू पनि त्यहाँ पुग्ने गरेका छन्।
७५३ वटा पालिकामध्ये नेमकिपाले अन्त कतै पनि जित हासिल गर्न सकेको छैन। तर भक्तपुर नगरपालिकाको जितलाई उदाहरणीय बनाएको छ, जुन अरू पालिकाका लागि अनुशरणयोग्य छ।
यसैलाई लक्ष्य गर्दै मेयर प्रजापतिले रेशम चौधरीलाई भनेका थिए।
‘७५३ वटा स्थानीय तहमा भक्तपुरबाहेक हामीले अन्त जित्न सकेका छैनौं। तर हामीलाई के कुरामा गर्व छ भने, यहाँ हामीले गरेको काम हेर्न कांग्रेस, एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरू गाडी रिजर्भ गरी गरी आउँछन्,’ प्रजापतिले चौधरीलाई सुनाएका थिए।
यसरी भक्तपुरवासीको मन लगातार जित्दै आएको नेमकिपाले भक्तपुर–१ मा वर्चस्व नै स्थापित गरेको थियो।
तर यसपटक नेमकिपाको उक्त बर्चस्व तोडियो। देशभर बजेको घण्टीको उच्च ध्वनी भक्तपुर–१ मा पनि बजिछाड्यो।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीको बर्चस्व स्थापित हुँदा पनि नतोडिएको नेमकिपाको विजयको शृंखला यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खण्डित गरिछाड्यो।
भक्तपुरमा सधैं सत्तापक्ष बनेको र जित यहीँ मात्र सीमित गरेको नेमकिपाले पाँच जनासम्म सांसद विस्तार गरेको थियो।
इतिहासमा नेकपाले २०४८ सालमा १, २०५१ मा ४, २०५६ मा १, २०६४ मा ५, २०७० मा ४ र पछिल्लो समय १–१ जना संघीय सांसद जित्दै आएको थियो। भक्तपुरबाहेक जित विस्तार गर्न नसकेकाले राष्ट्रिय पार्टी बन्न सकेको थिएन।
भक्तपुरको ‘सत्तापक्ष’ नेमकिपा राष्ट्रिय राजनीतिमा भने सधैं प्रतिपक्षी बेञ्चमा बस्न रूचाउँथ्यो। यही नै उसको सामर्थ्य र राजनीतिक साधना बन्ने गरेको थियो।
भक्तपुरमा जित अकन्टक राख्नुको कारण उसले अवलम्बन गर्दै आएको जुछे विचारधारा, उसको राजनीतिक बाटो, दृष्टिकोण र दर्शन मात्र होइन, जनतासँग निरन्तर जोडिने नीति नै हो। शिक्षा, स्वास्थ्य लगायत विकासको प्रारम्भिक खुट्किलामा समान पहुँच स्थापित गर्ने उसको नीतिले जनमनलाई छोएको मतदाताहरू बताउने गर्थे। र, उसप्रतिको आकर्षण टिकाइराखेको थियो। नयाँ मतदाताले पनि त्यसलाई धेरै हदसम्म रूचाएका थिए।
यस पटकको निर्वाचनमा त्यो पनि खण्डित भयो। देशभरि चलेको मत परिवर्तनको वेगवान लहरले यहाँका मतदाताको मनस्थिति पनि परिवर्तन गरिछाड्यो।
भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले लगातार पाँच पटक जित हासिल गरेका थिए। उनीपछि संसदीय उत्तराधिकारी प्रेम सुवाल बन्दै प्रेम सुवाल आएका थिए। उनले पनि दुईपटक लगातार जित हासिल गरे।
२०४८ सालमा भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ निर्वाचित भएका थिए। उनी २० हजार १६३ मतसहित निर्वाचित हुँदा निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका राघेशमान जोन्चेले १३ हजार ७३२ मत ल्याएका थिए।
२०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्दा भक्तपुर–१ मा त्यसको प्रभाव परेन। उक्त निर्वाचनमा नेमकिपाका रोहित १६ हजार ७७० मतसहित सांसद निर्वाचित हुँदा प्रतिस्पर्धी राप्रपाका सुरेन्द्रप्रताप शाहले ९ हजार ४३८ मत ल्याए। कांग्रेसका राघेशमान जोन्चेले ८ हजार १३७ मत ल्याए। एमाले चौथो भयो।
२०५६ सालको आमनिर्वाचनमा रोहित १६ हजार ५३३ मतसहित सांसद निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका गणेशमान चक्रधरले १० हजार ३० मत ल्याए। एमाले तेस्रो भयो।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल बन्यो। तर भक्तपुर–१ मा नेमकिपाका रोहित १९ हजार ९७२ मतसहित निर्वाचित भए। माओवादीका देवेन्द्र श्रेष्ठ ११ हजार ५४८ मतसहित दोस्रो र कांग्रेसका महेश श्रेष्ठ ८ हजार २८१ मतसहित तेस्रो भए। एमाले चौथो भयो।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेमकिपाका रोहित २० हजार ४४६ मतसहित निर्वाचित हुँदा कांग्रेसका कृष्णलाल भँडेल १२ हजार ८२६ मतसहित दोस्रो भए। माओवादी र एमाले क्रमशः तेस्रो र चौथो भए।
२०७४ सालको संघीय निर्वाचनमा रोहितले उक्त क्षेत्रबाट विश्राम लिए। प्रेम सुवाल उम्मेदवारका रूपमा प्रस्तुत भए। उक्त निर्वाचनमा सुवाल ३३ हजार ७६ मतसहित सांसद निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका बाबुराजा जोशी १७ हजार ८१८ मतसहित दोस्रो भए।
२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुर–१ (१) मा एमालेका हरिशरण लामिछाने र प्रदेश २ मा नेमकिपाका सुरेन्द्रराज गोसाइँ निर्वाचित भए।
लामिछानेको बीचमै निधन भएपछि भएको उपचुनावमा कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित निर्वाचित भएका थिए।
२०७९ को संघीय निर्वाचनमा भक्तपुर–१ बाट प्रेम सुवाल ४२ हजार ७६१ मतसहित सांसद निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका नवराज गेलाल ११ हजार ९६८ मतसहित दोस्रो भए।
प्रदेशसभातर्फ १ मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ निर्वाचित भए भने प्रदेश २ मा नेमकिपाका सुरेन्द्रराज गोसाइँ नै दोहोरिए।
समानुपातिकतर्फ पनि नेमकिपा नै अगाडि थियो। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेमकिपाले ४१ हजार ७१४ मत ल्याउँदा दोस्रोमा रहेको एमालेले २६ हजार १२७ मत ल्याएको थियो। कांग्रेसले २३ हजार ८४१ र रास्वपाले २३ हजार २०६ मत ल्याएको थियो।
प्रदेशसभातर्फ पनि नेमकिपा नै अगाडि थियो। प्रदेशसभाको समानुपातिकमा नेमकिपाले ४६ हजार ९२ मत ल्याएको थियो। एमालेले २९ हजार २४७ र कांग्रेसले २५ हजार ६८५ मत ल्याएको थियो।