जापानमा मतदान सुरू भएको छ।
तल्लो सदनको ४६५ सदस्यका लागि आइतबार बिहानदेखि मतदान सुरू भएको हो।
मतदान बेलुका ८ बजे समाप्त हुने जापान टाइम्सले जनाएको छ।
जापानको निर्वाचन आयोगका अनुसार साढे १० करोडभन्दा बढी मतदाता छन्।
मतदानकै दिन भारी हिमपातका कारण केही मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन बनाउने सम्भावना रहेको जापान टाइम्सले जनाएको छ।
निर्वाचनकै दिन उत्तरी र पूर्वी क्षेत्रहरूमा ७० सेन्टिमिटरसम्म हिमपातको पूर्वानुमान गरिएको छ।
टोकियोमा समेत दुर्लभ हिमपात भएको छ। यातायात मन्त्रालयका अनुसार आइतबार बिहानसम्म ३७ रेल लाइन, ५८ फेरी सेवा र ५४ उडान रद्द भएका छन्।
यसपटक तीन महिनाअघि प्रधानमन्त्री बनेको सनए ताकाइचीकोको पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरिएको छ।
मतदान सकिएलगत्तै विभिन्न संस्था र सञ्चारमाध्यमहरुले गरेको सर्वेक्षणको नतिजा सार्वजनिक हुनेछ।
सर्वेक्षणहरूले ताकाइचीको पार्टी लिबरल डेमोक्र्याटिक (एलडिपी)ले तल्लो सदनमा बहुमत कटाउने देखाएको छ। अघिल्लो प्रतिनिधि सभामा एलडिपीको १९८ सांसद थिए। ४६५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि २३३ सांसद आवश्यक हुन्छ।
एलडिपी एक्लैको बहुमत नभएका कारण ताकाइची गठबन्धन सरकारका प्रधानमन्त्री थिइन्।
गठबन्धनमा काम गर्न सहज नभएको भनेर उनले १६ दिनअघि मात्रै संसद विघटन गरेर चुनाव घोषणा गरेकी थिइन्।
गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (इशिन) सहित सत्तारुढ गठबन्धनले करिब ३०० सिट हासिल गर्न सक्ने देखिएको छ।
ताकाइचीले विशेष गरी उपभोग कर कटौती वा घटाउने, सरकारी खर्च बढाउने, कमजोर आय भएका वर्गको संरक्षण लगायतका एजेन्डाले मतदाताको मन जितेको बताइएको छ। जापानमा खाद्यान्नमा ८ प्रतिशत उपभोग कर लाग्छ। ताकाइचीले सो कर दुई वर्षका लागि पूर्ण रूपमा हटाउने बताएकी थिइन्।
यस्तो परिणाम आएमा प्रधानमन्त्री ताकाइचीको दलभित्रको पकड थप बलियो हुने र ठूलो खर्च तथा कर कटौतीमा आधारित वित्तीय नीति अघि बढाउने स्पष्ट जनादेश प्राप्त हुने विश्लेषकहरू बताउँछन्।
मित्सुबिसी यूएफजे मोर्गन स्टान्ली सेक्युरिटिजका वरिष्ठ बन्ड रणनीतिकार केइसुके त्सुरुताका अनुसार एलडीपीको ठूलो जितले बजारमा उपभोग कर कटौतीजस्ता सक्रिय वित्तीय नीतिहरू अघि बढ्ने सम्भावना बढाएको सन्देश जानेछ।
सर्वेक्षणअनुसार सबैभन्दा ठूलो विपक्षी दल सेन्ट्रिस्ट रिफर्म एलायन्स कमजोर अवस्थामा देखिएको छ र हालको १६७ सिटमध्ये करिब आधा गुमाउन सक्ने अनुमान गरिएको छ।