संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।
बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची छ।
त्यस्तै राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने, विकास, आर्थिक मामिला तथा सुशासन समितिका माननीय सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्नुहुने, विधायन व्यवस्थापन समितिका माननीय सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन“ सभा समक्ष पेस गर्ने, गृहमन्त्री ओमप्रकाश अर्यालले देहायको अध्यादेशहरु सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
राष्ट्रिय सभामा आज मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ पेश गर्नेछन्।
अध्यक्षले पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य ऋषिकेश गौतम, पूर्वमन्त्री, संविधानसभा सदस्य एवं प्रतिनिधि सभाका पूर्वसदस्य मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ, पूर्वमन्त्री, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका पूर्वसदस्य आमोदप्रसाद उपाध्याय र पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्व सदस्य होमनाथ दाहालको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ।