फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा देशभर उम्मेदवार खडा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मनाङमा भने गरेको छैन।
पार्टीका तर्फबाट उम्मेदवार बनाइएका अनिल गुरूङले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता नै गरेनन्।
रास्वपा गण्डकीका प्रवक्ता नवीन त्रिपाठीका अनुसार, सोमबार नै गुरूङलाई टिकट दिएर पठाइएको थियो। मंगलबार उम्मेदवारी दिन जानुपर्ने गुरूङको दिनभर फोन अफ भएको उनले बताए।
'अनलाइन आवेदनमार्फत् उहाँले टिकट माग्नुभएको थियो, पार्टीले हिजो नै उहाँलाई टिकट दिएर पठाएको थियो,' त्रिपाठीले भने, 'उहाँले आज उम्मेदवारी दर्ता गर्न जानुभएनछ। अरू समस्या के भयो थाहा छैन, दिनभर उहाँको फोन अफ छ।'
रास्वपा नेता गणेश पराजुलीले पनि सोमबार साँझ पार्टी कार्यालयबाट मनाङमा उम्मेदवारी दर्ता गराउन अनिल गुरूङले मनोनय पत्र बुझेर हिँडेको जानकारी दिए। मंगलबार दिउँसोसम्म पनि बाटोमै भएको बताएका थिए।
'काठमाडौंबाट मनोनयन पत्र लिएर जानुभएको थियो, किन पुग्नु भएन भनेर हामी बुझ्दैछौं,' उनले भने।
मनाङका प्रमुख निर्वाचन अधिकृत रामप्रसाद पौडेलले पनि रास्वपाबाट उम्मेदवारी दर्ता गर्न कोही नआएको जानकारी दिए।
उनका अनुसार मनाङमा ५ वटा राजनीतिक दलबाट टिकट पाएका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्।
जसमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरूङ, एमालेबाट पोल्देन छोपाङ गुरूङ, नेकपाबाट यशोदा गुरूङ सुवेदी, राप्रपाबाट कुविरसिंह गुरूङ र मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर घलेले मात्र उम्मेदवारी दर्ता गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मदेवारी दर्ता गर्ने समय मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म तोकिएको थियो।
तोकिएको समयमा उम्मेदवारी दर्ता गर्न नगएपछि मनाङमा रास्वपाको उम्मेदवारी परेन।