नवलपरासीमा नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारका लागि टिकट ल्याएका छन्।
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याएपछि को आधिकारिक हो भन्ने विवाद सिर्जना हुने स्थिति बनेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले एकै क्षेत्रका लागि भीमबहादुर थापा क्षेत्री (भरत) र देवेन्द्र राज कँडेल (मुन्नाबाबु) दुवैलाई टिकट दिएर पठाएपछि विवाद उत्पन्न भएको हो।
सुरूमा नेपाली कांग्रेसको तर्फबाट भरतले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन कार्यालयमा ७ नम्बरमा उम्मेदवारी दर्ता गराएका भरतको प्रस्तावकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थकमा यमलाल भुसाल रहेका छन्।
उनको उम्मेदवारी दर्ता भएको थाहा पाएपछि मुन्नाबाबु पनि टिकट लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।
उम्मेदवारी दर्ता गर्न कागजात पेश गर्दा कम्प्युटरमा कांग्रेसको तर्फबाट दर्ता भइसकेको देखिएपछि निर्वाचन कार्यालयले इन्ट्रि गर्न नमिल्ने भन्दै मुन्नाबाबुलाई फर्काएको थियो।
थापा सुनवल नगरपालिकाका पूर्व नगरप्रमुख हुन् भने कँडेल पूर्व गृह राज्यमन्त्री हुन्।
उम्मेदवारी दर्ता गरेका भरत थापाले आफूलाई कांग्रेस सभापति गगन थापाले मंगलबार बिहान टिकट दिएपछि उम्मेदवारी दर्ता गरेको र कँडेलले टिकट ल्याएकोबारे पछि मात्रै थाहा पाएको बताए।
‘यस्तो कहिलेकाहीँ प्राविधिक समस्या हुन्छ देशभरिको टिकट वितरणमा एकाध ठाउँमा दोहोरो पर्ने समस्या स्वाभाविक हो, नवलपरासीमा आधिकारिक उम्मेदवार म नै हो, भरतले भने।
मुन्नाबाबुसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।
पार्टी सभापतिले दिएको पत्र लिएर गएका मुन्नबाबुको उम्मेदवारीलाई निर्वाचन अधिकृतको कार्यालयले दर्ता किताबमा मात्रै चढाएर राखेको छ।
दुवै पत्रको आधिकारिकता बुझेर बुधवार निर्णय लिने कार्यालयले जनाएको छ।
सहायक निर्वाचन अधिकृत प्रेमनारायण पराजुलीले एउटै पार्टीबाट दुई जनाको मनोनयन दर्ता नहुने र थापाको पहिले नै कम्प्युटरमा इन्ट्रि भइसकेकोले पछि आएका कँडेलको दर्ता किताबमा मात्र चढाएर राखेको बताए।