नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई पछाडि फर्काउने चालविरूद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन्।
मंगलबार घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले जेनजी आन्दोलनका नाममा राष्ट्रलाई हिंसाको क्रिडास्थल बनाउने चालको रूपमा अथ्र्याए।
उनले आन्दोलनका नाममा महत्वपूर्ण सम्पदाहरू छोटो अवधिमै ध्वंस गरिएको बताए।
जेनजीको नाममा गरिएको आन्दोलनलाई विष्फोटक रूपमा प्रयोग गर्नका लागि ३३ प्रतिशत सामाजिक सञ्जालका फेक एकाउन्टहरू प्रयोग भएको विदेशी संस्थाका सर्वेक्षणले समेत देखाएको उनले बताए।
सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताका लागि आफ्नो उमेदवारी भएको दाबी गरे।
पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार मनोनयन दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन्। पोखरेल २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता दीपक गिरीलाई पराजित गरेर संसद प्रवेश गरेका थिए।
२०५६ सालको चुनावमा नेपाली कांग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बनेका थिए।
२०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि उनी कांग्रेस नेता बुद्धिराम भण्डारीसँग पराजित बने।
२०७४ सालमा उनी लुम्बिनी प्रदेश सांसदमा निर्वाचित भएका थिए। त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए। २०७९ सालमा महासचिव पोखरेल रेखा शर्मासँग पराजित भएका थिए।
दाङ–२ मा कांग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपा सहमहामन्त्रीका विपिन आचार्य चुनावी मैदानमा छन्।