पार्टीबाट निष्कासनमा परेका गगन थापाले विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै आगामी नियमित महाधिवेशनसम्मका लागि अन्तरिम नेतृत्व छानेर जाऊँ भन्दा पनि सहमति हुन नसकेको बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवासँग बिहान भएको वार्ताबारे जानकारी दिँदै उनले भने, 'विशेष महाधिवेनको हलबाट एउटा अन्तरिम नेतृत्व छानौं, जसलाई छाने पनि हुन्छ भन्दा पनि उहाँहरू मान्नुभएन।'
'हामीले सभापतिज्यूलाई यति मात्र भन्यौं — दाइ, केवल यति टेक्ने ठाउँ दिनुस्, ताकि फागुन २१ गते चुनावमा जाँदै गर्दा नेपाली कांग्रेसले विगतका धेरै कुरा बिसाएर नयाँ भएर आएको छ भन्न पाइयोस्, योभन्दा बढी अरू केही चाहिएको छैन,' गगनले भने, 'कांग्रेसले चुनावमा जाँदा कम्तिमा आफ्नो अनुहार त फेरोस्, हामी भदौ २३ भन्दा अगाडिको जस्तो कांग्रेस होइनौं भनेर त जाऊँ भन्दा पनि उहाँहरू मान्नुभएन।'
सामूहिक नेतृत्व छानौं भनेर प्रस्ताव गर्दा पनि सहमति नभएको उनले बताए।
उनले आगामी चुनावमा जाँदा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा होइन भनेर जनतामाझ जाऔं मात्र भनेको पनि बताए।
'नेपाली कांग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेदवार गगन थापा भनेको होइन। जसलाई बनाउने हो बनाउनुस्। तर नेपाली कांग्रेस पार्टीले अब चुनावमा जाँदै गर्दा यत्ति त भनेर जाऔं- प्रधानमन्त्रीको उम्मेदवार श्री शेरबहादुर देउवा होइन भनेर त जाऔं, अरू जसलाई बनाए पनि हुन्छ भनेको हो,' उनले भने, 'अपमान गरेर भनेको होइन। देश र जनतामाझ भन्नुपर्ने बाध्यता छ।'
उनले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने पनि उल्लेख गरे।
'तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनुहोला। कसैको बारेमा टिप्पणी नगरिदिनुहोला। ती साथीभाइलाई पनि सँगै लिएर जानुपर्नेछ। केही दिनपछि जब कांग्रेसको महाधिवेशन सकिन्छ। नयाँ निर्णय सुनाउँछौं। दुई दिन पछाडि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छदैछ नि,' उनले भने।
थापाले नेपाली कांग्रेस अहिले पनि नफुटेको र विशेष महाधिवेशन गरिरहेको समूह नै 'सच्चा कांग्रेस' भएको बताए।
उनले विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै थापाले भने, 'यो पार्टी फुटेको छैन। यही हो पार्टी। नेपाली कांग्रेस पार्टी अहिले अधिवेशनको क्रममा छ। आज बेलुकी यसको अधिवेशनको अध्याय सकिन्छ। यो अधिवेशनले जे निर्णय गर्छ, त्यो निर्णयले पार्टी अघि बढाउँछ।'
उनले अगाडि भने, 'तपाईंहरू यहाँबाट आफ्नो घर फर्किनुहुन्छ, गाउँ फर्किनुहुन्छ। तपाईंहरूलाई सबैले प्रश्न सोध्ने छन्। तपाईंहरूले काठमाडौंमा भएको गगन र विश्व सहभागी विशेष महाधिवेशनमा गएर आएको थिएँ भन्दा एक जनाको शिर निहुरिँदैन।'