नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने बताएका हुन्।
साथै दलहरूले आत्मसमीक्षा गरेर विगतमा के कमजोरी भए भन्ने कुराको मूल्यांकन गर्न जरूरी रहेको पनि उनले बताए।
'हामी त्यो निष्कर्षमा पुग्यौं र हाम्रो भागमा परेको कमजोरीको समीक्षा पनि गर्यौं। हामी संकल्प लियौं कि ती कमीहरू अब सच्याउनुपर्छ र रूपान्तरित हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौं,' उनले भने।
उनले मुलुकले सामना गरिरहेको परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको बताए।
'राष्ट्र जुन असाधारण अवस्थाबाट गुज्रेको छ यो समयमा राष्ट्रलाई थप एकतावद्ध गर्ने, एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ संकल्पसहित पहलकदमी लिन जरूरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टीले पार्टी एकता प्रक्रियालाई लियौं,' उनले भने।