नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री दीपक खड्काले पार्टी छाड्नेहरूलाई निस्कासन गरिने बताएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा डाकिएको केन्द्रीय समितिको बैठकमा भाग लिन पुगेका खड्काले पत्रकारहरूसँगको कुराकानीमा त्यस्तो बताएका हुन्।
पत्रकारले ‘कस्तो निर्णयको तयारी भइरहेको छ’ भनेर प्रश्न सोधेका थिए। जवाफमा खड्काले भने– पार्टी छाडेपछी सामान्यता निस्कासन गरिन्छ।
उनले विशेष महाधिवेशन पक्षधर र संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षधरबीच वार्ता चलिरहेको बताए। दिउँसो साढे १ बजेका लागि डाकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै सुरु हुन सकेको छैन।
उनले पार्टी भित्रको विवाद मिलाउन शीर्ष तहमा नेताहरु लागेको बताए।
‘शीर्ष तहमा नेताहरु लाग्नुभएको छ। एकै ठाउँम राख्नका लागि। उतातिर(विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा) मनोनयन दर्ता सुरु भएको छ। यता(सानेपामा) केन्द्रीय समिति बैठक राखिएको छ। छलफल चलिराखेको छ। सबै जिल्लाका सभापतिहरु एक ठाउँमा बसेर दबाबमूलक कार्य भइरहेको छ’, खड्काले भने, ‘एकाध घण्टा हेरौँ।’
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्यहरु बैठकको उपस्थितिमा हस्ताक्षर गरिरहेका छन्। कतिपय नेताहरुले आजै विशेष महाधिवेशन पक्षहरुलाई कारवाही गर्नुपर्ने जस्तो भाषा बोलिराखेका छन्।
तर खड्काले भने केन्द्रीय समितिबाट हुने निर्णय ‘परिघटनाले तय गर्ने’ बताए। ‘प्रक्रियाहरु हुन्छन्। विधान छ। त्यस अन्तर्गत निर्णय हुने कुरा हो’, खड्काले भने, ‘वार्ता चलिराखेको छ।’
भिडिओः