नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा होमनाथ दाहालको निधन भएको छ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा थिए।
८४ वर्षीय दाहाललाई हृदायघात भएपछि गएराति वीर अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष थिए।
ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए।
उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए।
उनका पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका श्रीमती र दुई छोरा छन्।
उनको निधनमा शोक प्रस्ताव पारित गर्न नेपाली कांग्रेसले शनिबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।