नेपाली कांग्रेसको काठाडौं जिल्ला कार्यसमिति सभापति कृष्ण बानियाँ (सबुज) ले विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत वक्तव्य जारी गरेका छन्।
उनले बिहीबार जारी गरेको उक्त वक्तव्यमा विशेष महाधिवेशनको सफलताको शुभकामना पनि दिएका छन्।
‘नेपाली कांग्रेसका ५४.५८% महाधिवेशन प्रतिनिधिहरूको विधिवत माग बमोजिम विधानको धारा १७(२) अनुसार मिति २०८२ पुस २७ र २८ गते भृकुटीमण्डपमा…दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना हुने भएकोले,’ उनको वक्तव्यमा भनिएको छ, ‘..सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूलाई यस ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आह्वान गर्दै देशको राजधानी काठमाडौंमा हार्दिक स्वागत गर्दछु एवं विशेष महाधिवेशनको ऐतिहासिक निर्णयसहित भव्य सफलताको कामना गर्दछ।’
विभिन्न कालखण्डका विषम परिस्थितिहरुमा लोकतन्त्रको रक्षार्य नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलन पश्चात देशमा उत्पन्न संवैधानिक शून्यता निवारण एवं लोकतन्त्रको जगेर्ना गर्नको लागि पनि नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका छन्।
'नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका अत्यावश्यक रहेको अवस्थामा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र व्यवस्थापन एवं देशको समसामयिक राजनितिक चुनौतीहरू चिर्न नेपाली कांग्रेस आफै रूपान्तरित हुन अत्यन्त जरूरी छ,' उनले भनेका छन्।
यसअघि कांग्रेस ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्की सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोक सभापति जंगबहादुर लामा, उदयपुर सभापति हिमाल कार्कीलगायतले विशेष महाधिवेशन स्वागत गर्दै सहभागिताका लागि विज्ञप्ति नै जारी गरेर अपिल गरेका थिए।