नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबार बिहान ९ बजे हुने भनिएको केन्द्रीय कमिटी बैठक अझै सुरू हुन सकेको छैन।
केन्द्रीय कमिटी बैठकपछि १२ बजे सुरू हुने भनिएको बन्द सत्र पनि १ बजेका लागि सरेको छ। बन्द सत्र हुने हलमै केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
यो मौजुदा केन्द्रीय कमिटीको अन्तिम बैठक हो। बैठकमा बन्द सत्रमा उठ्ने विषयबारे छलफल हुनेछ। अन्तिम बैठक भएकाले यसले धन्यवाद ज्ञापन गर्नेछ।
उद्घाटन समारोह शनिबार भक्तपुरको सल्लाघारीमा गरेको एमालेले बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा गर्दैछ। बन्द सत्रमा सरिक हुन उपस्थित महाधिवेशन प्रतिनिधिहरूको भृकुटीमण्डपमा चहलपहल बिहानैदेखि छ।
एमालेको महाधिवेशन प्रतिनिधि संख्या २२६२ छ।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी केन्द्रीय कमिटीमा प्रस्ताव लैजान लागेका छन्।
पदाधिकारीको आकार बढाएर १९ सदस्यीय र केन्द्रीय कमिटीको आकार २५१ सदस्यीयबाट बढाएर ३०१ पुर्याउने गरी ओलीले प्रस्ताव लैजान लागेका हुन्।
एमालेको मौजुदा पदाधिकारी संख्या १५ छ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा विधान संशोधनमार्फत पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रस्ताव फेल भएको थियो। त्यति बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ओलीको उक्त प्रस्तावमाथि प्रतिवाद गरेका थिए।
उनीहरूले विधान संशोधन गर्ने भए ७० वर्षे उमेर हद र २ कार्यकाल पनि राख्नुपर्ने भनेका थिए।
आफू पक्षकै नेताहरू पनि विपक्षमा उभिएपछि विधान संशोधन गर्ने ओलीको प्रस्ताव सचिवालय बैठकबाट फेल भएको थियो।
त्यहाँबाट प्रस्ताव पारित हुन नसकेपछि ओलीले केन्द्रीय कमिटीबाट विधान संशोधन प्रस्ताव पारित गर्न लागेका हुन्। केन्द्रीय कमिटीमा ओलीको पक्षमा दुईतिहाइ बढी सदस्य छन्।
आफ्नो पक्षमा आकांक्षीहरूको लर्को लागेपछि ओलीले पदाधिकारीको संख्या बढाउन लागेका हुन्।