नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चुनावअघि महाधिवेशनमा गर्ने भए विशेष महाधिवेशन 'फेस' गरेर जानुपर्ने बताएका छन्।
तर पार्टीलाई एकढिक्का बनाउने हो भने चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने उनले बताए।
‘विशेष महाधिवेशनमा जाऔं, म विशेष अधिवेशनको पक्षमा छु, हेप्ने हामीलाई अपराधिजस्तो, ए चुनाव जितेर आएको हो भन्या?,’ आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘केन्द्रीय समितिमा भएकाजति अपराधिजस्तो। बाहिर हरूवाहरूले त चलाएका छन्, केन्द्रीय समितिमा भएका मानिसलाई पनि विशेष अधिवेशन चाहिएको छ। चाहिएको छ भने विशेष अधिवेशनमा जाऔं, कसरी गर्ने फेस गरौं। होइन, देश र पार्टीलाई संकट परेका बेला निर्वाचनमा एकढिक्का भएर जाने हो भने चुनावपछि महाधिवेशनमा जाऔं।’
कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते बुझाएका थिए।
सहमहामन्त्री राठोरले पार्टीभित्रको आन्तरिक निर्वाचनले चुनावमा असर पर्ने गरेको पनि बताए। लोकतान्त्रिक पार्टी भने पनि कांग्रेसभित्र लोकतान्त्रिक संस्कार नभएको उनको भनाइ थियो।
राठौर २०७८ मंसिरको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका हुन्।