पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ।
प्रदेश सरकार र स्थानीय तहका बीचको सम्बन्धलाई थप व्यवस्थित र एक रूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख सहितको भेला आयोजना गर्न थालिएको जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा कात्तिक २५ र २६ गते प्रदेश राजधानी सुर्खेतमा त्यस्तो भेला आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।
दुई दिनसम्म चल्ने भेलामा दश वटै जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूका साथै प्रदेशका दश वटै जिल्लाका समन्वय समितिका प्रमुख र उपप्रमुखलाई पनि निम्ता गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा मुख्य गरि तीन वटा विषयहरूमा छलफल हुनेछ।
पहिलो प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा सेवा प्रवाह, दोस्रो कर्णाली प्रदेशले योजना छनौट सम्बन्धी हाल गरिरहेको अभ्यास र योजना छनौट कार्यविधि, तेस्रो स्थानीय तहका कर्मचारी र राजस्व संकलन तथा बाँडफाँटका सम्बन्धमा छलफल हुने भएको छ ।
सचिव विकका अनुसार संविधानमा तीन तहका सरकार बीच सहकार्य, सहअस्तित्व र समन्वयमा आधारमा अघि बढ्नु पर्ने भावना अनुसार प्रदेश र स्थानीय तहका सरकार बीचको सम्बन्धलाई थप समन्वयात्मक ढंगले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रियाको आयोजना गर्न थालेको हो।
छलफल तथा अन्तरक्रियाले दुई तहका सरकार बीच देखिएका कतिपय समस्या र ती समाधानका उपायहरू खोजिने आशा गरिएको बिकले बताए।
कर्णाली प्रदेश सरकारले पहिलो पटक योजना छनौट तथा आयोजना बैकको अवधारणा ल्याए चालु आर्थिक बर्षको बजेट कार्यान्वयन गरिररहेको छ। त्यो अवधारणालाई थप परिमार्जन गर्ने सन्दर्भमा समेत छलफल हुनेछ।