मधेसमा नयाँ मुख्यमन्त्री नियुक्त विवादले तनाव बढाएको छ।
नयाँ मुख्यमन्त्री नियुक्ती प्रक्रियाको सदनमा रहेका ७ राजनीतिक दलले विरोध जनाएका छन्।
त्यसको विरोधमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिवको कार्यकक्षमा तोडफोड भएको छ।
प्रदेश सांसदहरू सहितको टोली कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन्।
प्रमुख सचिवको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा समेत उनीहरुले फ्याँकिदिएका छन्।
प्रदेश सांसद लगायतको टोलीले आएर खेलकुदको कबर्डहलमा बनाइएको मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै मन्त्रालयहरुमा तालाबन्दी गरेर गएको कार्यालयका सूचना अधिकारी उपसचिव बासुदेव मल्लले जानकारी दिए।
‘अहिले मुख्यमन्त्रीको कार्यकक्ष गृह सञ्चार तथा कानुन मन्त्रालयमा राखिएको छ। मुख्यमन्त्रीको कार्यालय अर्को ठाउँमा छ। सांसद र कार्यकर्ताहरु आउनुभएको थियो, त्यहाँ गएर भित्र तोडफोड पनि भयो। एकदुई जना कर्मचारीलाई हातपात समेत भयो,’ उनले भने, ‘सचिवज्यूहरु आइपुग्नु भएको थिएन, उप सचिवको हैसियतले सबै कर्मचारीलाई आफ्नो सुरक्षा गर्न घर जानुस भनेर पठाइदिएँ।’
सामान्य तोडफोडपछि उनीहरुले तालाबन्दी गरेर चाबी लिएर गएको उनले बताए। उनीहरुले गृह सञ्चार लगायत अन्य मन्त्रालयमा पनि तालाबन्दी गरेका छन्।
प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड तथा गमलाहरूमा क्षति पुगेको छ। कतिपय प्रदेश सांसदहरुले तोडफोड गर्न आएकाहरुलाई बाहिर जान आग्रह गरिरहेको भिडिओहरु पनि सार्वजनिक भएका छन्।
नयाँ मुख्यमन्त्री नियुक्तीको विरोधमा जनकपुरमा टायर बालेर विरोध प्रदर्शन समेत भइरहेको छ।