नेपाल जेनजी फ्रन्टले केन्द्रीय विभागीय सदस्य र प्रदेश सम्पर्क प्रतिनिधि तोकेको छ।
फन्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना केन्द्रीय विभागीय सदस्य र ७ जना प्रदेश सम्पर्क प्रतिनिधि तोकेको हो।
केन्द्रीय विभागीय सदस्यहरूमा जनसम्पर्क समितिमा रितु खड्का, अभियान समितिमा अमृता बन र सूचना प्रविधि समितिमा संविधान प्रसाईं छन्। यस्तै, प्रदेश सम्पर्क व्यक्तिमा कोसी प्रदेशमा रोहन दंगाल, मधेस प्रदेशमा मो. नजरे आलम, बागमती प्रदेशमा सचिन चापागाईं, गण्डकी प्रदेशमा साबिज मियाँ, लुम्बिनी प्रदेशमा सौरभ न्यौपाने, कर्णाली प्रदेशमा बिनिता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन बिष्टलाई तोकिएका छन्।
भदौ २३ र २४ गते देशभरि भएको जेनजी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यसहित राज्यसँग सम्झौता प्रक्रिया अघि बढाउने तयारी फन्टले गरेको छ।
फ्रन्टका संयोजक रक्षा बमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, कुशासन र डिजिटल निरङ्कुशताको विरूद्ध तथा सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा देशभरि उभिएको जेन–जी विद्रोहलाई संस्थागत र दीर्घकालीन रूप दिन यो कदम चालिएको हो।’
फ्रन्टले जेन–जी पुस्ता, युवा, विद्यार्थी तथा सबै सचेत नागरिकलाई एकीकृत गर्दै परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरेको छ।
फ्रन्टले निकट भविष्यमा संगठन विस्तार र आगामी कार्ययोजना सार्वजनिक गर्ने जनाएको छ।