मुख्यसचिव एकनारायण अर्यालले निजी क्षेत्र एकातिर सरकार अर्कातिर हिँडेर विकास नहुने बताएका छन्।
शनिबार काठमाडौंमा भएको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले विकासका लागि सरकार र निजी क्षेत्र सँगै हिँड्नुपर्ने बताएका हुन्।
'सरकारले निजी क्षेत्रले चाहेजसरी काम गर्न नसकेको सत्य हो। निजी क्षेत्र एकातिर सरकार अर्कोतिर हिँडेर विकास हुन सक्दैन। मिलेर हाम्रो क्षमताको प्रयोग गर्नुपर्ने छ,' उनले भने।
उनले आर्थिक समृद्धिको आधार निजी क्षेत्र रहेको पनि बताए।
'हामी स्वीकार्छौं। सरकारले लोक सेवामार्फत वर्षमा ३ हजार हाराहारी मात्रै रोजगारी सिर्जना गर्छ। तर एउटै निजी प्रतिष्ठानले १५/२० हजार रोजगारी दिइरहेको छ। यसकारण आर्थिक समृद्धिको आधार निजी क्षेत्र नै हो। यो कुरा समाजलाई पनि बुझाउनु पर्नेछ। हाम्रो सोच नै बदल्न जरुरी छ,' उनले भने।
उनले हामीले विकास र वातावरणको संरक्षण लागि थुप्रै कानुन बदल्न जरुरी रहेको पनि बताए।