रोल्पाको रोल्पा नगरपालिका–५ बजबाङमा जोतिरहेको ट्याक्टरमा कपडा अल्झिएपछि एक महिलाको मृत्यु भएको छ।
शुक्रबार बिहान स्थानीय ४८ वर्षीय यज्ञबहादुर महरा र उनकी श्रीमती ४५ वर्षीय भिमली महरा बारीमा काम गर्दै थिए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार यज्ञबहादुरले चलाउँदै गरेको हाते ट्याक्टरको फालीमा उनकी श्रीमती भिमलीको कपडा अल्झिएको थियो।
ट्याक्टरको फालीमा कपडा अल्झिएपछि उनी लडेकी थिइन्। ट्याक्टरको फालीले काटिएको भागमा गहिरो चोट लागेको थियो।
श्रीमतीलाई बँचाउन जाँदा यज्ञबहादुरलाई पनि फालीले काटेको डिएसपी विश्वकर्माले जानकारी दिए।
दुर्घटनापछि स्थानीयले तत्कालै दम्पत्तिलाई उपचारका लागि प्यूठानस्थित प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री पुर्याएका थिए। उपचारकै क्रममा दिउँसो भिमलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
यज्ञबहादुरको अवस्था गम्भीर भएकाले थप उपचारका लागि भैरहवा रेफर गरिएको प्रहरीले बताएको छ।