मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले कात्तिक २२ गते विश्वासको मत लिने तयारी गरेका छन्।
बुधबार मुख्यमन्त्री सोनलले मधेश प्रदेश सभामा पत्र पठाएर यसबारे जानकारी गराएका हुन्।
मुख्यमन्त्री सोनलले पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि व्यवस्था मिलाईदिन अनुरोध गरिएको छ।
विश्वासको मत पाएपछि मात्रै मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तार गर्ने सोचमा मुख्यमन्त्री सोनल देखिन्छन्।
सोनल ५ दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
५६ मा जनमत पार्टीका १३ सांसद पनि जोडिएको थियो। तर, जनमतका सबै प्रदेश सभा सदस्यले उनलाई मतदान नगर्ने स्थिति छ। किनकी जनमत पार्टीबाट अलगिएर दुई जना सांसद जनस्वराज पार्टीमा सनाखत गराएका थिए। सर्वोच्च अदालतले सिके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
नयाँ सरकार गठनपछि जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोज सिंह कुशवहा निलम्बित भएका छन्। त्यसैले अब ५६ मतमध्ये तीन मत सोनलले नपाउने निश्चित छ।
एक एक जना प्रदेश सभा सदस्य रहेका नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने चर्चा छ। यसो हुँदा अन्यथा नभएको अवस्थामा मुख्यमन्त्री सोनललाई ५५ जनाको समर्थन पुग्ने देखिन्छ।
१०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम छन्। बहुमतका लागि ५३ मत आवश्यक पर्छ। त्यस अनुसार सोनल नेतृत्वको सरकारलाई बहुमत प्राप्त हुने देखिन्छ।
जसपा नेपालको १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी) का ७ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्यले उनलाई विश्वासको मत दिनेछन्।
सबैभन्दा ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्ने छन्। एमाले २३, कांग्रेस २२ जना प्रदेश सभा सदस्य छन् ।