नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले केही विषयमा विमती भए पनि आफू एकतामा सहभागी भएको बताएका छन्।
भृकुटीमण्डपमा १० वटा कम्युनिस्ट घटकको एकता समारोहलाई सम्बोधन गर्दै नेता खनालले आफू कहिल्यै एकताको विपक्षमा नरहेको बताउँदै केही ढिला भए पनि एकता समारोहमा सहभागी भएको बताएका हुन्।
झलनाथ खनाल केही ढिला गरी कार्यक्रममा पुगेका थिए।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकबाट एकता गर्ने निर्णयलाई अनुमोदन गर्दा झलनाथ त्यसको विपक्षमा उभिएका थिए।
माधव नेपाल पक्ष एकतामै सहभागी भए पनि पार्टीलाई पुनर्गठन गरी नयाँ ढंगले अगाडि बढाउने घोषणा गरेका थिए।
मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनले बुधबार बिहान माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका थिए।
खनालले भुकृटीमण्डको कार्यक्रममा ढिला उपस्थित हुनुको कारण रहेको पनि बताए।
त्यसबारेमा प्रचण्डसँग कुराकानी भइसकेको पनि उनले बताए।
'मैले कमरेड प्रचण्डलाई भनिसकेको छु। हामी त्यो कुराहरू मिलाउछौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यही विश्वासका आधारमा केही विमति भए पनि एकताको कुनै विकल्प छैन भनेर एकतामा बल पुर्याउनका लागि म यहाँ आएको हूँ,' खनालले भने।
उनले आफू सँधै वाम एकताको पक्षमा रहेको पनि बताए।
तर कम्युनिस्ट पार्टीभित्र छिरेका केही प्रवृत्तिले पार्टी टुटफुट हुने गरेको उनको भनाइ छ।
'त्यस्ता कुरालाई निकालेर फ्याँक्नु पर्यो जसकारण फेरि पार्टी नफुटोस्,' उनले भने।