नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आजको केन्द्रीय समिति बैठकमा बोल्दै फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गर्न पार्टीले किन ढिलाइ गरेको भनेर सोधेका छन्।
आजको केन्द्रीय समितिमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि २९ सम्म १५ औं महाधिवेशन गर्न उपयुक्त हुने भन्दै प्रस्ताव राखेका थिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि महाधिवेशन पक्षमा उभिँदा सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी र पूर्वपदाधिकारी भने चुनावपछि वैशाख मसान्तमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका हुन्।
दुई थरि कार्यतालिका केन्द्रीय समितिमा पेस भएको अवस्था छ।
नेता सिटौलाले आजको केन्द्रीय समितिमा बोल्दै चुनावमा भाग लिने निर्णय गर्न किन पार्टीले ढिलाइ गरेको हो भनेर सोधेका थिए।
‘जबकि भदौ २३ र २४ को जेनजी आन्दोलनपछि असोज ३ गते उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा नेता सिटौलाले चुनाव होइन, प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरौं भन्नुभएको थियो,’ एक कार्यसम्पादन समिति सदस्यले सेतोपाटीसँग भने, ‘त्यसबेला उपसभापति खड्काले प्रतिनिधि सभा विघटन संविधानसम्मत नरहेको, अदालतले यसलाई परिक्षण गर्ने छ नै l तर कांग्रेस पार्टी चुनावमा जाने निर्णय गर्दछ भनेर प्रस्ताव गरेका थिए। तर सिटौलाले हुन्न भन्नुभयो र निर्णय लिन सकेको थिएन।’
आज सभापति देउवानिकट सहमहामन्त्री महेन्द्र यादवले फागुनको चुनाव सकेर वैशाख मसान्तमा मात्रै १५ औं महाधिवेशनको प्रस्ताव केन्द्रीय समितिमा पेस गरेपछि सिटौलाले किन चुनावमा भाग लिने निर्णय पार्टीले नगरेको हो भनेर पार्टी पदाधिकारीहरूलाई लक्ष्य गर्दै सोधेका हुन्।
‘असोज ३ को कार्यसम्पादन समितिले फागुन २१ को चुनावमा भाग लिने विषयमा निर्णय लिन खोज्दै थियो। उपसभापति र महामन्त्रीहरूले चुनावमा जाने निर्णय गर्न खोजेका बेला सिटौला कुर्सीबाट उठेर बैठक बहिष्कार गर्छु भन्नुभएको थियो। आज उहाँ फेरि चुनावमा जाने निर्णय किन गरिएन भनेर चर्को स्वरमा सोध्नुहुन्छ,’ ती कार्यसम्पादन समिति सदस्यले भने।