माओवादी केन्द्रका नेता राम कार्कीले भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकामा कल्की झुन्ड्याएर ठुल्ठूलो पदमा पुगेर एकताको स्वाङ गरिरहेको टिप्पणी गरेका छन्।
एकीकृत समाजवादीलगायत आठ दलसँग हुन लागेको एकताप्रति असन्तुष्ट रहेका कार्कीले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर नयाँ शुद्धीकरणको अभियान चलाउने बताएका हुन्।
‘भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरू, भ्रष्टाचारका मुद्दा लागेका नेताहरु टाउकामा कल्की झुन्ड्याएर ठुल्ठूलो पदमा पुगेर यहाँ एकताको स्वाङ गर्दैछन्। 
‘यो स्थितिमा हामी लामो डकुमेन्ट पछाडि पेश गर्नेछौं,’ उनले भने, ‘एउटै नेताको बर्चस्व चल्ने, केपी ओलीको बर्चस्व चल्ने एमाले, प्रचण्डको बर्चस्व चल्ने माओवादी पार्टीको ठाउँमा जनार्दन, राम कार्की र अञ्जनाको बर्चस्व चल्ने एक थान पार्टी खोल्न लागेका होइनौं।’
उनले कम्युनिस्ट आन्दोलनमा जे गल्ती देखा परेको छ, त्यो नदोहोर्याउने बताएका हुन्।
‘हामी यो गल्ती गर्दैनौं। हामी एकीकृत अभियान सञ्चालन गरेर कञ्चन हुन्छौं,’ कार्कीले भने। कार्कीले जेनजी विद्रोहपछि पार्टीहरू विघटन भइसकेको तर्क गरे।
माओवादी केन्द्रका नेता जनार्दन शर्मा, राम कार्की सहितले गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य अञ्जना विसंखे पनि सहभागी छन्।