राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले भेला बोलाएका छन्।
महामन्त्री राणाले आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्।
महामन्त्री राणानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार भेला आज मध्याह्न १२:३० बजेदेखि सुरू हुनेछ।
भेला बालुवाटारस्थित नेपाल हाउसमा बस्नेछ।
महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ गतेभित्रै गर्नुपर्ने बताउँदै आएका छन् तर अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशन गर्न नै समय मंसिर मसान्तसम्मको दिएका छन्।
अध्यक्ष लिङ्देनले अब बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल गर्ने बताउँदै आएका छन्।
अध्यक्ष लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर कात्तिक २७ र २८ गते केन्द्रीय समिति बैठक आह्वान पनि गरिसकेका छन्। 
गत माघमा केन्द्रीय समिति बैठक बसेपछि त्यसयता केन्द्रीय समिति बैठक नै बस्न सकेको छैन। माघको केन्द्रीय समितिमा महामन्त्री राणाले अध्यक्ष लिङ्देनको आलोचना गर्दै ६ पृष्ठको छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
राप्रपाले २०७८ मंसिरमा महाधिवेशन गरेकोले यही मंसिर १८ गते नियमित कार्यकाल सकिन्छ। राप्रपाले पनि विशेष अवस्था देखाउँदै विगतमा एक वर्ष कार्यकाल थप गरी ५ वर्षमा महाधिवेशन गर्ने गरेको थियो।