क्रिश्चियनहरूको हत्या भइरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा सैन्य कारबाहीको धम्की दिएका छन्।
आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा शनिबार पोस्ट गर्दै ट्रम्पले पश्चिम अफ्रिकी राष्ट्र क्रिश्चियनहरूको हत्या रोक्न असफल भए द्रुत गतिमा सैन्य कारबाहीका लागि तयार रहन रक्षा मन्त्रालयलाई निर्देशन दिएको खुलाएका छन्।
त्यस्तै अमेरिकी सरकारले नाइजेरियालाई दिंदै आएको सम्पूर्ण सहयोग र सहायता तुरुन्तै रोक्ने पनि उनले धम्की दिएका छन्।
नाइजेरियामा क्रिश्चियन, इस्लाम र अरू परम्परागत धर्म मान्ने लगभग २०० जातीय समूहहरू छन्।
ती समूहबीच जातीय हिंसा हुने सो देशमा बोको हराम, इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स लगायत मुस्लिम आतङ्कवादीले क्रिश्चियनहरूको हत्या गर्ने गर्छन्।
ती आतङ्कवादीहरूले मुसलमानकै पनि हत्या गर्ने भए पनि नाइजेरिया सरकारले क्रिश्चियनहरूको हत्या नियन्त्रण गर्न नसकेको भन्दै ट्रम्पले सैन्य कारबाही गर्ने धम्की दिएका हुन्।
'यदि हामीले आक्रमण गर्यौं भने, यो छिटो, क्रूर, र मीठो हुनेछ, ठीक त्यसैगरी जसरी आतङ्ककारी गुण्डाहरूले हाम्रा प्यारा क्रिश्चियनहरूलाई आक्रमण गर्छन्!,' नाइजेरियालाई कलंकित देश भन्दै उनले लेखे।
धार्मिक स्वतन्त्रताको उल्लंघन गरेको भन्दै अमेरिकाले बनाएको 'विशेष चिन्ताका देशहरू"को सूचीमा नाइजेरियालाई फेरि समावेश गरेको भोलिपल्ट ट्रम्पले सैन्य कारबाहीको धम्की दिएका हुन्। सो सूचीमा रहेका अन्य देशहरूमा चीन, म्यानमार, उत्तर कोरिया, रुस र पाकिस्तान पर्छन् भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि आफ्नो मन्त्रालय कारबाहीको लागि तयारी गर्दैछ भनेका छन्।
'या त नाइजेरियाली सरकारले क्रिश्चियनहरूको रक्षा गर्छ, या त यी भयानक अत्याचार गर्ने इस्लामिक आतंकवादीहरूलाई हामी मार्नेछौं,' उनले सामाजिक संजाल एक्समा लेखेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)