नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौंमा सम्पन्न भएको छ।
पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
बैठकले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, नेपाली विशेषताको समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्ने, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने निर्णय गरेको छ।
साथै, जनवादी क्रान्तिका उपलब्धि तथा राष्ट्रिय स्वतन्त्रता संरक्षण गर्दै सुशासन, सामाजिक न्याय, आर्थिक–सामाजिक रूपान्तरण सहित समाजवादतर्फ अघि बढ्ने रणनीति तय भएको छ।
बैठकले विभिन्न पार्टीसँग एकता गर्ने निर्णय पनि गरेको छ।
एकता हुने दलमा नेकपा माओवादी केन्द्र, विप्लव समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी लगायत समावेश हुनेछन्। पार्टीले यसलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने महत्वपूर्ण कदम भएको ठहर गरेको छ।
शनिबार पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्।
एकताप्रतिको विरोधमा भ्रम फैलाइएको भन्दै विज्ञप्तिमा भनिएको छ, 'केपी ओली (एमाले अध्यक्ष) ले घर फर्क भन्ने जाल फ्याँकेका छन्। हामी बीचको एकता प्रक्रिया भाँड्ने उयो उनको दुष्प्रयास मात्र हो। यसबाट कोही पनि भ्रमित नहुन र सिंगो पार्टी पंक्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन पार्टी हार्दिक आहान गर्दछ।'
