नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक शनिबार बस्यो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो बैठक भएकोमा नेता जनार्दन शर्मा भने बीचमै छाडेर निस्किएका थिए।
आजको बैठक एकीकृत समाजवादीसँग एकताको विषयमा छलफल गर्ने एजेन्डा थियो। त्यसबारेमा आफ्नो भनाइ राखेपछि जनार्दन बैठकबाट बाहिरिएका हुन्।
बैठकबाट बाहिरिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै शर्मा आफैले बैठक छाडेर निस्किएको बताएका छन्।
उनले एकीकृत समाजवादीसँग एकता तत्काल गर्न नहुने भनाइ राखेका थिए।
नेतृत्व हस्तान्तरणको बहस र महाधिवेशनको तयारी छाडेर पार्टी एकता गर्न लागेको भन्दै शर्माले यसले पार्टीको पहिचान नै मेटिने बताएका छन्।
'नेतृत्व हस्तान्तरण मुख्य कुरा हो। नेतृत्व हस्तान्तरणतिर जाने विधिसम्मत ढंगबाट जाने भन्ने कुरालाई पूरै अस्वीकार गर्दै जसरी यहाँ फेरि पनि मनोनीत गरेर आफ्नो वरिपरि सुरक्षित घेर बनाउने प्रयत्न हुँदैछ। यो कुराले यो पार्टीलाई अगाडि बढाउन सक्दैन भनेर म बाहिरिएँ,' शर्माले पत्रकारहरूसँग भने।
बैठक सकाएर निस्किएका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि जनार्दन बैठक बीचमा छाडेर निस्किएको बताए।
'बैठक राम्रो सुरू भएको थियो। सबैको कुरा सुनौं भनेको थिएँ। उहाँले विषय राख्नुभयो उठेर हिँड्नुभयो। त्यो शैली उहाँको नराम्रो हो। कसैलाई मन पर्ने शैली होइन,' उनले भने।
संयोजक प्रचण्डले पार्टी एकजुट रहेको पनि बताए। आगामी केन्द्रीय समिति बैठकसम्म जनार्दन शर्मा पनि एक हुने दाबी उनले गरे।